‘१६औं बान्तावा कविता प्रतियोगिता’ अनलाइन हुने

0
215
अनलाइन बान्तावा कविता प्रतियोगिताको सूचना

 

यलाखोम/बुङ्वाखा

बुङ्वाखाको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१६औं बान्तावा कविता प्रतियोगिता’ अनलाइनमार्फत गरिने भएको छ । बुङ्वाखा खिम्पाङको गत कार्तिक ५ गते बसेको अनलाइन (भर्चुअल) बैठकले सो निर्णय गरेको हो । वर्तमान कोरोना महामारीका कारण यस्तो निर्णय गरिएको हो ।

बैठक बुङ्वाखा सम्पादक पदम राईको संयोजकमा बसेको हो । सो भर्चुअल बैठकमा सह-सम्पादक तथा साहित्य- संयोजक असीम बान्तावा, बुङ्वाखा चेन्चेक्‌वाहरू रीता राराहाङ, माया राई, खान्नुबुङ राई, टकलाल राई, राजेन्द्र राई र दीलिप राजालिमको उपस्थिति रहेको थियो । कार्यक्रम सह-आयोजक संस्था किरात राई बान्तावा खिम इटहरीका अध्यक्ष राजेश राईको पनि सो बैठकमा उपस्थिति रहेको थियो । बैठकले आगामी बान्तावा कविता प्रतियोगिता अनलाइनमार्फत सम्पन्न गर्न निर्णय गरेपछि सोहीअनुसार कवि तथा सर्जकहरूलाई सूचना गरिएको छ । सो सूचनाअनुसार प्रतियोगितामा सहभागी हुनको लागि कविहरूले आफूले वाचन गर्दै गरेको कविताको भिडियो बुङ्वाखामा पठाउनुपर्नेछ ।

‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’को लागि गरिने सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार राशीले पुरस्कृत गरिने छ ।

बुङ्वाखा खिम्पाङको भर्चुअल बैठक ।

बुङ्वाखाले वर्षेनी मङ्‌सिर २४ गतेलाई आफ्नो वार्षिकोत्सव दिनको रूपमा मान्दै आएको छ । सो अवसरमा संस्थाले साहित्यिक, मान-सम्मान, सांगीतिक लगायतका कार्यक्रमहरू गर्दै आएको छ ।

यो साल बुङ्वाखाले आफ्नो वार्षिकोत्सव इटहरीमा मनाउने निर्णय गरेको छ । पूर्व माननीय तथा लेखक भुइँदल राईले आफ्‍नो नामलाई पहिलोचोटी ‘थाम्पुकल्हिम किरात’ नामाकरण गर्नुभएकोमा सो कुराको सम्मानार्थ उहाँको स्मृतिमा कार्यक्रम अर्पण गरिने भएको छ ।

LEAVE A REPLY