बुङ्वाखा संरक्षक र परिवारबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

0
256
महावीर पुनलाई रकम हस्तान्तरण गर्नुहुँदै टीका प्रसाद राई, बीचमा सरिता राई ।

बुङ्वाखा/यलाखोम

बुङ्वाखाका संरक्षक टीका प्रसाद राई र श्रीमती सरिता राईले ‘राष्ट्रिय आविष्कार केन्द्र’लाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँहरूले १ लाख ९७ रुपैयाँ सहयोग गर्नुभएको हो । असोज ४ गते कीर्तिपुरस्थित आविष्कार केन्द्रमा पुगी संस्थाका अध्यक्ष महावीर पुनलाई सो सहयोग समाजसेवीद्वय दम्पतिले हस्तान्तरण गर्नुभएको हो । ‘आविष्कार केन्द्रले कोरोना महामारीमा पनि अविछिन्न रूपमा अस्पताल र स्वास्थ्यकर्मीहरूलाई पिपिइलगायत स्वास्थ्य सामग्रीहरू निर्माण गरी निशुल्क वितरण गरिरहेकोमा सहयोग गरिएको’ टीका प्रसाद राईले बताउनुभएको छ ।

सरिता राई, महावीर पुन र टीका प्रसाद राई ।

शुभलाभ सहकारीबाट पनि सहयोग

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि. सातदोबाटो ललितपुरले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत संस्था र संस्थाका सञ्चालक समिति सदस्यहरूका तर्फबाट केन्द्रलाई १ लाख ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । संस्थाका सञ्चालक समितिका सात जना सदस्यहरु, संस्थाका कर्मचारीहरु जिएम ज्योतिका राई र डिएम उमेश कुमार राईले केन्द्रमै गई संस्थाका अध्यक्ष महावीर पुनलाई सो रकम हस्तान्तरण गरिएको संस्थाका सञ्चालक समिति सदस्य सरिता राईले बताउनुभएको छ ।

केन्द्रका अध्यक्ष महावीर पुनलाई शुभलाभका सञ्चालक समिति, कर्मचारीहरूले संयुक्त रूपमा रकम हस्तान्तरण गर्नुहुँदै ।

रकम हस्तान्तरणपछि केन्द्रका अध्यक्ष महावीर पुनले दाताहरूलाई धन्यवाद दिनुभएको थियो । ‘यो काम मेरो स्वार्थको लागि नभई देशकै हितमा हुने गरी गरिरहेको हो,’ उहाँले भन्नुभयो । उहाँले ग्रामीण क्षेत्रका सिर्जनशील युवाहरूसँग भएको क्षमतालाई पनि केन्द्रमा परीक्षण गरी उपयोग गर्न सकिने बताउनुभएको छ ।

फोटोहरूः सरिता राईको फेसबुकबाट ।

 

LEAVE A REPLY