हतुवागढी दरबारको ऐतिहासिकता र वर्तमान अवस्था

1
574
लेखक

चन्द्रकुमार राई ‘हतुवाली’

सार:

नेपालको पूर्वाञ्चल क्षेत्रमा रहेका ऐतिहासिक स्थानहरूमा हतुवागढी, विजयपुर र चौदन्डीगढी प्रमुख हुन् । यी गढीहरूमध्ये सुनसरीमा विजयपुर,  उदयपुरमा चौदन्डीगढी र भोजपुर जिल्लामा हतुवागढी पर्दछन् । विशेषत: राजनैतिक ऐतिहासिक स्थलका रूपमा यी गढीहरूको महत्त्व रहेको छ । विजयपुरगढी र चौदन्डीगढी सेनकालीन शासन व्यावस्थासँग सम्बन्धित रहेका छन् भने हतुवागढी किरातकालीन राज्य व्यावस्था वा राजनीतिसँग सम्बन्धित रहेको पाइन्छ । प्रस्तुत लेख हतुवागढी दरबारसँग सम्बन्धित रहेको छ ।

हालको घोडेटार बजारको शिरस्थित दक्षिण पश्चिममा रहेको डाँडा नै इतिहासकालमा हतुवा राज्यको सदरमुकाम तथा किरात शासनकालीन किरात दरबारस्थलको रूपमा रहेको छ । यद्यपि हतुवा डाँडामा हतुवागढी दरबारको भग्नावशेष रहेको छ । हतुवाबासीको आस्थाको रूपमा रहेको हतुवागढी दरबारको भग्नावशेष बारेमा नेपालको पुरातत्व तथा इतिहासमा पनि उल्लेख छ । यस किरात हतुवागढी दरबारको पुरातात्विक तथा ऐतिहासिक तथ्यगत अवस्थालाई विवेचना गर्दै महत्त्वलाई प्रष्ट पार्नु नै यस अध्ययनको मुख्य सार हो ।

१. पृष्ठभूमि

नेपालको पूर्वी पहाडी जिल्लाहरूमा भोजपुर पनि पर्दछ । परापूर्वकालबाट नै यो जिल्लामा किरात राई जातिको बसोबास केन्द्र रहँदै आएको छ । किरातहरूको बसोबास क्षेत्र भएकाले नै यस क्षेत्रलाई ‘माझकिरात’ भन्ने गरिएको हो (कार्की, २०६५-२) । किरातहरूले यहाँको भौगोलिक परिवेशसँग अनुकूलित हुँदै सामाजिक जीवनका पूर्वधारहरू निर्माण गर्दै पुस्तौंपुस्ता बिताइसकेका छन् । यस्ता कार्यहरूमा राज्य, राज्यसत्ता र स्थानीय सत्ता, प्रशासन, कानून, न्याय व्यावस्था, शान्ति सुरक्षा आदि कार्यहरू प्रमुख उदाहरण हुन् । यसमध्ये राज्यसत्ता एक प्रमुख कार्य हो । राज्य सत्ता संचालनको लागि राजा, मन्त्रीजस्ता प्रमुखहरू र स्थानीय निकायहरूमा राई, माथा, गुरुङ आदिका माध्यमबाट समाजमा शान्ति, अमनचयन कायम गर्दै कृषि, उद्योग, व्यापार र समाजसेवा संचालन भएको थियो भन्ने विभिन्न श्रोतहरूमा उल्लेख भएबाट प्रष्ट हुन्छ ।

तत्कालीन किरात भूमिको एक सशक्त राज्य भनेको हतुवा राज्य/देश हो । यहाँ किरात राई बान्तावा थरका वालाहाङ वंशले राज्य शासन संचालन गर्दै आएको भनाइ स्थानीय बासिन्दामा रहँदै आएको छ । पृथ्वीनारायण शाहको पूर्वी क्षेत्र विजय अभियानको क्रममा लामो समयको लडाइका बावजुद यो राज्य गोर्खा राज्यमा वि.सं. १८३० मा विलय हुन पुगेको थियो ।

यही लडाइको क्रममा हतुवागढी र किरात दरबार विनाश हुन पुगेको थियो ।लडाइपछि यो ठाउँ एक निर्जन र एकान्त ठाउँको रूपमा परिणत हुन पुग्यो । किरात राज्य र दरबारको अस्तित्वमात्र दरबारको भग्नावशेषले किरात मिथकको रूपमा कालान्तर बचाइरह्यो ।

हतुवागढीको भग्नावशेष अवस्था

२. भौगोलिक अवस्था 

हतुवाले पुरातत्व र इतिहासमा मात्र होइन वर्तमान समयमा पनि आफुलाई चर्चामा राख्न त्यतिकै सफल रहेको छ । हतुवागढी दरबार ८७֯ ००” देखि ८७֯ १५” पूर्वी देशान्तर र २६֯ ००” देखि २७֯ १५” अक्षांशमा पर्दछ भने समुद्र सतहबाट ७ सय ७० मिटरबाट १९ सय १३ मिटर उचाइमा अवस्थित रहेको छ (श्री ५ को सरकार, २०४६) । एकदमै खुला डाँडामा अवस्थित हतुवागढी दरबारको भग्नावशेषमा बाह्रैकाल हुरहुरे हावा चलिरहने भएकोले असाध्य चिसो हुन्छ । तर वि.सं. २०३९ पौष २९ गते बिहान १० बजे तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सवारी भएको दिनदेखि यहाँ स्याँठ चल्न कम भएको भन्ने स्थानीयबासीको भनाइ रहेको छ (अर्जेल, २०४२/२२) । विशेषत: यहाँको हावापानी र रुखबिरुवाहरू मध्यपहाडी प्रकारको रहेको पाइन्छ ।

३. हतुवाको अर्थ

प्राचीन समयबाट नै भोजपुरको दक्षिणमा रहेको एक भौगोलिक क्षेत्रलाई हतुवा र हतुवा शासित राज्यलाई हतुवा राज्य नामले परिचित हुँदै आएको छ । हतुवा नाम रहनुको ऐतिहासिक कारण तथा हतुवाको अर्थ खोतल्ने क्रममा विद्वानहरूले विभिन्न तर्कहरू प्रस्तुत गर्ने गरेका छन् । किरातकालीन समयमा हतुवा एक सशक्त राज्य थियो । यही राज्यमा राज्य चलाउने शासक ‘हाट्टवा’ नामका थिए । हाट्टवा शासक बल र बुद्धि पराक्रममा प्रसिद्ध भएकोले उसैको प्रभाव क्षेत्र, उसैको नामबाट अप्रभंश भएर यस क्षेत्रको नाम हतुवा रहन गएको हो (अर्जेल, २०४२/२१) ।

अर्को भनाइअनुसार सर्वप्रथम हतुवामा राई बान्तावा थरभित्रका रैथाने शिवाहाङ पाछाको राज्यक्षेत्र थियो । यस राज्यको शिवाहाङ पाछाको अन्तिम राजाको नाम तुक्तिहाङ थियो । तुक्तिहाङकै समयमा भारतमा राज्य चलाइबसेका राजा हिन्दुपति मुस्लिम आक्रमणपछि भागेर सप्तकोशी किनार पछ्याउँदै बराहक्षेत्र आइपुगे । उनी हिन्दू धर्मावलम्बी थिए । कोशी पारी किरात राई जातिको राज्यधिकार क्षेत्र भएको र त्यहाँ जनै वर्जित भएकोले आफुले लगाएको जनै बराह मन्दिरमा चढाइ कोशीको किनार पछ्याउँदै भोजपुरको साल्पा पुगेर सामान्य जीवन बिताउन थाले । यहिं क्रममा स्थानीय किरात छोरी दरिछेन्मा रार्इसँग विवाह भयो (२०५७/७) । यो वैवाहिक सम्बन्धले उनको आत्मविश्वास र महत्वकांक्षा दरिलो हुन पुग्यो । यही बसोबास गर्दै आफ्नो वर्चस्व कायम गरी राज्य स्थापना गर्न पुगेका थिए ।

अर्को तर्कअनुसार घोडेटारमा किरात राजाहरू दिनको दुईपटक घुमफेर गर्न निस्कन्थे । घुमफिर गर्न निस्कदा बस्नको लागि दुई वटा ढुङ्गाहरूको व्यावस्था गरिएको थियो । यद्यपि यी ढुङ्गाहरू सुरक्षित छन् । यी ढुङ्गाहरूको नाम हथवालुङ र रंगालुङ रहेको छ । हथवालुङ सानो र रंगालुङ ठूलो रहेको छ । यही सानो ढुङ्गा हथवालुङबाटै यस ठाउँको नाम हतुवा हुन गएको हो (राई, २०५८/५) । यसरी नै हतुवाको नामकरण सम्बन्धमा हतुवाको अप्रभंसित रूप हात्था भन्ने किरात वंशीको खुवा (State) भएको हुँदा हात्था अर्थात् हात्था भनेको किरातवंशी नाम वा भनेको क्षेत्र अप्रभंश भई हतुवा हुन गएको हो (शिवाहाङ, २०६०/६१) ।

हतुवाको शाब्दिक अर्थ दिने क्रममा राई बान्तावा भाषामा रहेको हतुवा नाम ‘ह’ भनेको ‘रगत’ र ‘तुआ’ भनेको ‘भेट’ भएको हतुआको अप्रभंस रूप नै हतुवा हो । यसको नेपालीमा रगतको भेट भएको भन्ने अर्थ लाग्दछ (हतुवाली, २०६२) । अर्को कथनअनुसार हतुवाक्षेत्रको भूमि त्यति उब्जाउशील नभएको, कमसल खाले ढुङ्गाहरू भने जताततै छरिएर रहेको विस्तृत भूभाग हुनाले हात्थालुङ-रङालुङ सोहोन भनिएको हुनसक्छ । यही हात्थालुङ-रङालुङ सोहोन नै हतुवाको मौलिक नाम हो अर्थात् हात्थालुङ-रङालुङ सोहोनको नाम नै हतुवा हो भनिएको छ (राई र राई, २०६६/१६) ।

हतुवाको अर्थ लगाउन विभिन्न तर्कहरू दिइए तापनि उल्लेखित सबै तर्कहरू किरात र किरात राज्यसँग सम्बन्धित रहेका छन् । यस तर्कहरूले पनि हतुवा किरात राज्यको अवशेष नै भएको कुरालाई प्रमाणित गरेको पाइन्छ । यसले प्राचीनकालबाट आजसम्म आफ्नो चिनारी कायम राख्न सफल भएको छ ।

४. हतुवा राज्यको भौगोलिक सिमाना

हरेक राज्यको भौगोलिक सिमाना हुन्छ । यही सिमानाले राज्यलाई अर्को राज्यबाट छुट्याएको हुन्छ । राज्यको क्षेत्रफल, क्षेत्राधिकार, जनता, सुरक्षा व्यावस्था र कानूनी अधिकारहरू सिमानाले निश्चित गरेको हुन्छ । राज्यको सिमाना जहाँसम्म रहेको हुन्छ, पहुँज त्यहाँसम्म पुग्छ । त्यसैले राज्यको सन्दर्भमा सिमानाको महत्त्व रहेको हुन्छ । हतुवा राज्यको सिमानाको बारेमा पनि इतिहासकार तथा अध्येयताबीच भिन्न मत रहेको छ ।

हतुवा राज्यको सिमाना पूर्वमा अरुण, पश्चिममा बेहेरे खोला, उत्तरमा खिकामाछा थुम र दक्षिणमा सुनकोशीसम्म भएको उल्लेख छ (सूचना विभाग, २०३१/६१७) । सिमाना उल्लेख गर्ने सन्दर्भमा पूर्वमा अरुण, पश्चिममा सुनकोशी, उत्तरमा हिमालय, दक्षिणमा दुधकोशी थियो (राई, २०६०/७०) । समग्रमा हतुवा राज्यको बारेमा सबैमा स्वीकार्य हुँदाहुँदै पनि सिमानाको बारेमा भने एकमत भएको देखिन्न । लेखक जय शिवाहाङका अनुसार लिखुखोला पूर्व, अरुण नदी पश्चिम, चीन (भोट) दक्षिण र सुनकोशी नदीको उत्तरी भूभागलाई माझकिरात भनिन्थ्यो (शिवाहाङ, २०६४/१) । माझकिरात पृथ्वीनारायण शाहले हतुवा राज्य विजयपश्चात दिएको नाम हो ।

वास्तवमा पृथ्वीनारायण शाहको पूर्वी विजय अभियन्ताको अस्तित्वमा रहेको हतुवा राज्यको सीमानालाई नै माझकिरातको सीमाना तोकिएको थियो । यस अर्थमा माझकिरात वा हतुवा राज्यको सीमाना भनेको सुनकोशी पूर्व, दुधकोशी उत्तर, अरुण पश्चिम र भोटको दक्षिण बीचको भूभाग नै हतुवा राज्यको सीमाना थियो भन्न सकिन्छ । पूर्वमा अरुण, पश्चिममा बेहेरे खोला, उत्तरमा खिकामाछा थुम र दक्षिणमा सुनकोशीसम्म उल्लेखित सिमाना भनेको राणाकालीन थुमको हो ।

५. हतुवा राज्यको ऐतिहासिक अवस्था

हतुवा राज्यको ऐतिहासिक अवस्थाको सम्बन्धमा अध्ययनका आधारहरू स्थानीय श्रुति, कथन, भनाइ, भौगोलिक अवस्था, भग्नावशेष र ऐतिहासिक लेखन हुन् । यी ऐतिहासिक आधारहरू कतिपय समान र कतिपय आकाश र जमिनको फरक पाइन्छन् । तथापि यी सबै आधारहरू नै हतुवा राज्यको बारेमा जान्ने श्रोत हुन् । हुन त इतिहास लेखनमा भौतिक प्रमाणलाई आधार मान्नुपर्दछ । तथापि अन्य कथनहरूको समेत बेवास्ता गर्न भने मिल्दैन । प्रचलित संकथनहरूले वस्तुगत प्रमाणहरूलाई सबल तुल्याउन मदत गर्दछन् । हतुवा राज्य र हतुवागढी दरबारको बारेमा मुख्यत: दुई प्रकारका संकथन तथा ऐतिहासिक धारणाहरू रहेको छन्:

५.१. किरात राजाको शासनसँग सम्बन्धित स्रोतहरू

राज्य, शासन,  प्रशासन र न्यायसँग सम्बन्धित ऐतिहासिक श्रोतहरूको माध्यम पुरातात्विक प्रमाण, आधिकारिक लिखित दस्तावेज, अन्य भौतिक सामाग्रीहरूलगायत सम्बन्धित जानकारहरूका श्रब्यदृश्यमार्फत् संकलित संकथनहरू हुन् । यिनै आधारहरूमा इतिहास लेखिएको हुन्छ । हतुवा दरबारका सन्दर्भमा पनि यही ऐतिहासिक प्रमाण तथा दस्तावेजहरूको नै अध्ययनको क्रममा मदत लिनुपर्ने हुन्छ ।

हतुवा राज्य, हतुवागढी दरबारको बारेमा वर्णन गर्ने केही ऐतिहासिक श्रोतहरूमा स्थानिक संकथन र केही इतिहासकारहरूले किरात राजाद्धारा शासित एक स्वतन्त्र राज्य भनेर उल्लेख गरेका छन् । हतुवागढी दरबार प्राचीनकालका किराती राजाहरूको गढी हो । यहाँ अझै पनि त्यति बेलाका राजाहरूको गढीको भग्नावशेष र पुराना हातहतियार देख्न सकिन्छ (सूचना विभाग, २०३१/६१७) । हतुवाका निवासीहरू किरात हुन् वा गैर किरात, हतुवा किरात राई राजाहरूबाट शासित एक स्वतन्त्र राज्य भएको मत रहेको छ । उनीहरूमा सेन अधिपत्यका बारेमा कसैलाई जानकारीमा छैन । यस राज्यको राजा सुनाहाङ, कर्महाङ,  अटलहाङ राई थिए । यी राजाहरू राई जातिभित्रका बान्तावा थरका वालाहाङ पाछा भएको जानकारीमा पाइन्छ । हतुवागढी दरबार संरक्षण समितिका पूर्व अध्यक्ष हर्कहाङ राईका अनुसार पनि यहाँका राजाहरू वालहाङ, सुनाहाङ, कर्महाङ र अटलहाङ थिए ।

किरात इतिहासकार इमानसिं चेम्जोङले पनि किराती राजा वलिङहाङ र उलिङहाङको बारेमा चर्चा गरेको पाइन्छ । इतिहासकारले वालाहाङ लेख्नुपर्ने ठाउँमा वलिङहाङ लेखेका छन् । वालाहाङ राजाले अरुणकोशीछेउको हतुवा राज्यको राजधानी हतुवागढी दरबारबाट शाह आक्रमणको सशक्त प्रतिकार गरेका थिए । यस क्रममा किरात राई जातिको वलिदानीपूर्ण प्रतिरोधको वावजुद पनि हार भई अन्तत गोरखा साम्राज्यमा वि.सं. १८३० मा विलिन हुन पुग्यो (याक्खा राई, २०५३) । परिणामत: एउटा स्वतन्त्र, सार्वभौमिक हतुवा राज्यको अस्तित्व विश्व मानचित्रबाट लोप हुन पुग्यो ।

अर्को श्रोतअनुसार पूर्वी नेपालको किरात क्षेत्रलाई पनि विशिष्टीकरण गर्दा सुनकोशीदेखि अरुणसम्मको क्षेत्रफलमा रहेका ९ लाख किरातीहरूको क्षेत्र माझकिरात रहन गयो (राई र राई, २०६६/४०) । हतुवा ओझल पर्दै अस्तित्वहीन किरात लोककथामा बन्न पुग्यो । गोर्खाली सेनाको लगातारको आक्रमणमा टिक्न नसकेर तत्कालीन किरात शासक अटलसिं राई हाल भारतको उत्तरी विहारको मधेपुरा र सुपौल जिल्लामा बसोबास गर्न पुगेका थिए । अहिले पनि त्यहाँ राईहरूको बाक्लो वस्ती रहेको छ । त्यहाँका राईहरूमा राजा अटलसिं राईको सन्तति तथा समर्थकको सन्तान भएको संकथन अहिले पनि प्रचलन र विश्वास रहेको छ (राई, २०६७/८) ।

५.२. सेन राजासँग सम्बन्धित ऐतिहासिक श्रोतहरू

नेपालको विद्यमान अवस्था राजा पृथ्वीनारायणको एकीकरणपछिमात्र भएको हो । एकीकरणपूर्व भने विभिन्न राज्यहरूमा विभाजित अवस्थामा रहेको प्रष्ट छ । तत्कालीन अवस्थामा विभाजित राज्यहरू जातीय शासन व्यवस्थामा आधारित थिए र सोही प्रकारकै विशिष्ट सामाजिक, राजनैतिक र कानूनी व्यवस्थाहरू प्रचलनमा रहेका थिए । यिनै विशिष्ट पहिचानसहितको हालको पूर्वी नेपालमा हतुवा राज्य स्थापित थियो, जुन राज्य किरात राई जातिसँग सम्बन्धित थियो । तथापी मूलधारका इतिहासकारहरूले हतुवा राज्यलाई सेन अधिनस्थ देखाएको पाइन्छ । वि.सं. १७८७ वरपर चौतारा विचित्र राय र राजा महिपति सेनबीचमा खटपट भएर महिपति सेन ल्हासामा शरण लिन पुगेका थिए । यही समयमा अरुण नदीदेखि पश्चिमतर्फ रहेको माझकिरात र कमला तथा कोशी नदीका बीचका तराई क्षेत्रहरूलाई भने त्यहाँका खम्बु मन्त्रीहरूले एउटा अलग स्वतन्त्र राज्यको गठन गरी जगत सेनलाई राजा बनाई राजधानी चौदन्डीलाई बनाएका थिए । चौदन्डी राजधानी भएकोले यस नयाँ राज्यलाई चौदन्डी भनिएको थियो (आचार्य, २०६३/१८६) ।

वरिपरि कोशी र अरुणले छेकिएको चौदन्डी राज्यको पहाडी प्रदेशको शासन चलाउन सजिलाका लागि हतुवागढीमा अर्कै शासनकेन्द्र कायम भयो (नेपाल, २०५५/२९२) । वि.सं. १८३० को वर्षाको समयमा गोरखाली फौज दुधकोशी तरी माझकिरातमा दाखिल भए (नेपाल, २०५५/२९७) । यतिबेला चौदन्डीमा राजा कर्ण सेन थिए । चौदन्डी उपर गोर्खाली सेनाले आक्रमण गरी त्यसलाई आफ्नो कब्जामा पारेको हुनाले राजा कर्ण सेन भागेर मोरङ पुगे (शर्मा, २०२७/२०८) भन्ने उल्लेख छ । तथापि यी मूलधारका इतिहासकारहरूमध्येमा ज्ञानमणि नेपालले बाहेक कसैले पनि हतुवाको बारेमा उल्लेख गरेको पाइन्दैन । उनीहरूले माझकिरातमात्र भनेको पाइन्छ । तर माझकिरात भनेको कुन हो भन्नेमा दिग्भ्रम रहेको देखिन्छ । वास्तवमा माझकिरात भनेको नै हतुवा राज्य हो भन्ने कुरामा प्रष्ट रहन सकेका छैनन् । माझकिरातका खम्बु युवाहरूले नेपाली सैनिकहरूलाई पाइला-पाइलामा रोके र धनजनको क्षति पुर्‍याएको उल्लेख गरेको पाइन्छ (आचार्य, २०६३/१८९) । यसरी स्थानीयत्वलाई वेवास्ता गर्दै विनाधार किरात राज्यलाई सेनको अधिपत्यमा भएको कुरा कुनै तथ्यगत आधारहरू प्राप्त छैनन् । इतिहासकारहरूले यस बारेमा तथ्यगत आधारहरू दिएको पाइन्दैन ।

६. हतुवा दरबार निर्माणको बारेमा कथनहरू

हतुवा दरबारको भग्नावशेषले यो दरबार विशाल थियो भन्ने प्रष्ट पार्दछ । उच्च डाँडामा रहेको यो दरबारको निर्माण सहजले भयो भन्न निकै कठिन छ । दरबारको निर्माण सुरुक्षा, सुन्दरता, स्वच्छ हावापानी दृश्य अवलोकनको उदेश्यले निर्माण गरिएको अनुमान गर्न सकिन्छ । दरबारको वरपर फाँटिला जग्गाहरू भए पनि दरबार निर्माणमा यस उच्च डाँडालाई छनौट गरिएबाट यस्तो तर्क गर्न सक्ने आधार बन्न पुगेको हो । दरबारको निर्माणमा विशाल जनशक्ति र आर्थिक लगानी भएको देखिन्छ । यस विशाल दरबारको निर्माण गर्नको लागि किराती प्रजाहरू ३ कोष जति टाढा पर्ने अरुणको गढतिरसम्म लाइन लागेर हातहातै (पासिङ सिस्टम)बाट ढुंगा ओसारेर गरेका थिए (अर्जेल, २०४२/२४) ।

दरबार निर्माण सम्बन्धमा पाइएको अर्को तथ्यअनुसार हतुवागढी दरबार निर्माण जन श्रमदानबाट एकै रातमा भएको थियो र निर्माणमा प्रयोग गरिएको सम्पूर्ण ढुङ्गा पिखुवा खोलाबाट लामबद्ध भई जनताले ओसारेका थिए (राई, २०५७/..) । दरबारमा प्रयोग गरिने ढुङ्गा काङ्वा र पिखुवा खोलाबाट लामबद्ध भई जनताले ओसार्नुको कारण हतुवामा ढुङ्गा नभएर होइन, यहाँ पाइने ढुङ्गा कमसल खाले भएकोले हो (राई र राई, २०६६/१६) । यसरी दरबारको निर्माणमा मजबुतितर्फ गहन ध्यान दिएको पाइन्छ भने दरबारको निर्माणमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता रहेको पाइन्छ ।

७. दरबारको आकार र संरचना

हतुवागढी दरबारको भग्नावशेष जगलाई नियाल्ने हो भने भव्य र विशाल थियो भन्ने अनुमान सहजै काट्न सकिन्छ । यसरी नै यसको संरचना कस्तो प्रकारको थियो ? भन्ने कुरा पनि जगको भग्नावशेषले नै प्रष्ट पारेको देखिन्छ । हतुवा राज्य तथा हुतुवा दरबारका अध्येता अनुसन्धाताहरूले दरबारको आकार र संरचनाको बारेमा विभिन्न तर्कहरू दिएका छन् । यो दरबारलाई ‘वालाहाङ हाङखिम’ नामले बोलाइन्थ्यो र तत्कालीन मानदेवको कैलाशकुट भवनजस्तै ७ तलाको रहेको थियो । दरबारको पाचौँ तलामा तत्कालीन राजा वालिहाङले आफ्ना विरोधी तुक्तिहाङलाई अतिथि सत्कार गरेका थिए (राई, २०६०/३८) । यसरी नै दरबारको जगको गाह्रोको नाप ४.५ फिट राखिनु र जगको आकार वर्गकार हुनुले सम्भवत: हतुवा दरबार ६ तलादेखि ७ तलासम्मको अग्लो थियो (राई र राई, २०६६/४५) ।

८. दरबारको भग्नावशेष

हतुवा दरबारको भग्नावशेष जग जोड चिन्ह आकारमा रहेको देखिन्छ । वर्गाकारभित्र चारैतिर चार चोसाहरू निकालिएका छन् । भित्रको वर्गकार नाप र बाहिरको जम्मा नाप २ हजार ३ सय पच्चीस वर्गफिट रहेको छ । प्रत्येक वर्गकार जगको लम्बाइ ४२ फिटका दरले १ हजार ७ सय ६४ वर्गफिट हुनजान्छ । यस्तो वर्गाकार लम्बाइ (४२ फिट) बाट १६.५ फिट लम्बाइ र ८.५ फिट चौडाइ भएको अर्को जग निकालिएको छ भने गारोको मोटाइ ४.५ फिटको रहेको छ (राई र राई, २०६६/४५) ।

दरबारको भग्नावशेष वरपर वृतकारमा रहेको खाइ खाल्डो रहेको थियो । खाइको गहिराइ २.५ फिट अग्लो रहेको थियो । (राई र राई, २०६६/४७) । तर स्थानीय निवासी ईश्वरमान राईले भने सो खाइ ६ देखि ७ फिट जति गहिरो थियो । यही दरबारको दक्षिण उत्तर दिशातिर दुई वटा घरका राम्रा जगहरू देखिन्थे । पश्चिमतिर एउटा घरको जग र अर्को घर बनाउन मिल्ने खालको समथर परेको जमिन देखिन्थ्यो भने लगभग १२ फिट जतिको बाटो संखामचुलीतिर गएको देखिन्थ्यो । यो भनाइलाई हतुवागढी संरक्षण समितिका तत्कालीन अध्यक्ष हर्कराजहाङ राईले समर्थन गर्दै दरबारको दक्षिण उत्तर दिशातिर दुई वटा घरका राम्रा जगहरू थिए । ती घरहरू मध्येमा एक शस्त्रघर र अर्को घोडा बान्ने तबेला घर थियो भन्ने जानकारी दिएका छन् ।

९. किरात दरबारको भग्नावशेषमाथि आक्रमण

तत्कालीन प्रचलित संविधान र व्यावस्थाको विरुद्धमा माओवादी पार्टीले वि.सं. २०५१ फागुन १ गतेबाट रुकुम र रोल्पाबाट शुरुवात गरेको जनयुद्ध वि.सं. २०६० साल वरपर देशभर फैलिन पुग्यो । ६० को दशकमा हतुवा घोरेटार पनि माओवादीहरूले भोजपुर दक्षिणी क्षेत्रको केन्द्रको रूपमा विकास गर्दै आफ्ना गतिविधिहरू संचालन गर्न थाल्यो । माओवादीहरूको गतिविधि नियन्त्रण गर्नेको लागि एक उचित स्थानको रूपमा सेनाले हतुवागढी दरबार भग्नावशेष क्षेत्रलाई उपयुक्त ठाउँ ठहर गर्यो । नेपाली सेनाले कब्जा गर्दै मिति वि.सं. २०६२ मंसिर १ का दिन क्याम्प स्थापना गर्‍यो । क्याम्प खडा गरेपछि भग्नावशेषहरूमा बंकर बनाई पुरातात्विक ऐतिहासिक स्थलमा आक्रमण भयो । यसपछि हतुवागढीको अस्तित्वमाथि आक्रमण भई पूर्णत: नेपाली सेनाको आधुनिक क्याम्पमा परिवर्तन हुन पुग्यो । क्याम्प बनाएपछि खाइलाई नै आधार मानेर सेनाले पोष्टहरू बनाएकोले अहिले खाइ तथा प्रमुख जगको भग्नावशेषसँग रहेका साना जगहरू नामेट पारिएका छन् । मुख्य जगलाई भने बचाएर राखिएको छ । जगकै छेउमा पश्चिमतिर एक मन्दिर स्थापना गरिएको छ । सेनाको क्याम्पभित्र पर्न गएकोले हतुवागढी दरबारको भग्नावशेष अहिले स्थानीयबासीको पहुँजभन्दा बाहिर हुन गएको छ ।

१०. हतुवागढी दरबारको भग्नावशेष बचाउन गरिएका प्रयत्नहरू

ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण गर्ने पहिलो कर्तव्य राज्यको हो । राज्यले यी सम्पदाहरूको संरक्षण खातिर सम्बन्धित निकायहरूमार्फत् आवश्यक कदमहरू चाल्नुपर्दछ । अर्कोतिर यी निकायहरूले जनसहभागिता गराउनको लागि पुरातात्विक वस्तुहरूको महत्व बारेमा चेतना दिनुपर्दछ । यस कार्यले समग्र सहभागिताले सहजले पुरातात्विक वस्तुहरू सुरक्षित हुन पुग्दछन् । तर हतुवागढी दरबारको भग्नावशेष संरक्षणको बारेमा भने भिन्न परिस्थिति रहेको देखिन्छ । यहाँका वि.सं. २०४६ सालमा यहाँका जनताहरू स्वतस्फुर्त जागेर स्थानीय तबरमै हतुवागढी संरक्षण समिति स्थापना गरेर हतुवागढी दरबारको संरक्षण गर्न अग्रसर भएको पाइन्छ । यस समितिले हतुवागढी दरबारको भग्नावशेषलाई संरक्षण गर्नका लागि तारबार घेरा लगाएर रेखदेख गर्दै आएको थियो ।

राज्यको सम्बन्धित निकाय पुरातत्व विभागले पनि  वि.सं २०५० सालमा करिब १ फिट जति भग्नावशेषको उठाएर गएको थियो । त्यसपछि भने हतुवागढी दरबारको भग्नावशेषप्रति पुरातत्वको आँखा पर्न सकेन । बरु राष्ट्रको पुरातात्विक तथा ऐतिहासिक सम्पदा हतुवा दरबारको भग्नावशेष क्षेत्रलाई केन्द्र बनाई तत्कालीन सशस्त्र जनयुद्धलाई नियन्त्रण गर्ने क्रममा नेपाली सेनाले वि.सं. २०६२ मङ्सिर १ गतेका दिन अचानक आई जथाभावी खनेर क्याम्प निर्माण गर्‍यो । तत्कालीन हतुवागढी दरबार संरक्षण समितिका अध्यक्ष हर्कराजहाङ राईका अनुसार सेना अचानक आइ बसिसकेपछि समितिलाई खोज्दै आएर जिल्लाबाट बस्ने आदेश दिएर पठाएकोले सेना बसेको हो भन्नेसम्म जानकारीसम्म दिए । मूल भग्नावशेषलाई केही बचाए पनि छेउमा रहेका साना भग्नावशेष तथा भग्नावशेषलाई जोड्ने पश्चिमतिर फैलिएर गएको विशाल फराकिलो बाटोको अवशेषलाई निमित्यान्नै पारि दिएको छ । नेपाली सेनाको यस्तो गतिविधिले नेपाली पुरातात्विक इतिहासको एक कालखण्डको सत्यतथ्य जानकारी पनि विनास हुन पुग्यो । यसले बाँकी रहेको हतुवा राज्य तथा किरात राज्यको इतिहासलाई नै नामेट गर्न पुग्यो ।

बाँकी रहेका भग्नावशेषलाई सुरक्षित राख्दै जनताको सहज पहुँचको लागि त्यस ठाउँबाट सेनालाई हटाउन हतुवागढी संरक्षण समिति, भोजपुरे बान्तावा राई साकेन्वा लाकछाम संरक्षा समिति, सुनसरी र किरात राई यायोक्खा केन्द्रीय कार्यालयले रक्षामन्त्रालय र सेनाका कार्यालयहरूमा माग राख्दै पटक-पटक निवेदन दिएका थिए । तर ती मागहरूको सुनुवाई अहिलेसम्म हुन सकेको छैन । वि.सं. २०६३ मंसिर ५ गतेका दिन भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको विस्तृत शान्ति सम्झौतामार्फत् देशमा द्वन्द्व समाप्त भएको र सोही आधारमा निर्माण भएको नेपालको संविधान २०७२ निर्माण भई लागू भइसकेको छ । यसअवस्थामा पनि द्वन्द्वकालीन समयमा सरकार तथा रक्षा मन्त्रालय र सेनाले पुरातात्विक ऐतिहासिक क्षेत्रमा कब्जा जमाएर बसेको ठाउँबाट नहट्नु भनेको पुरातात्विक ऐतिहासिक वस्तुप्रति उदासिन हुनु हो भन्न सकिन्छ । हतुवागढी दरबारको कब्जापछि नागरिकस्तरबाट चालिएका कदमहरू निम्न रहेका छन्:

१. वि.सं. २०६२ साल मङ्‌सिर १२ गतेका दिन भोजपुरे बान्तावा राई साकेन्वा लाकछाम संरक्षा समिति, सुनसरीले हतुवागढीको संरक्षणको लागि पूर्वी पृतना मुख्यालय, इटहरीमा ज्ञापनपत्र ।

२. वि.सं. २०६२ साल मङ्‌सिर २४ गते गतेका दिन ऐतिहासिकस्थल हतुवागढी संरक्षण समितिले श्री २ नं. वाहिनी अड्डा हिलेमा ज्ञापनपत्र ।

३. वि.सं. २०६४, साउन २९ गतेका दिन ऐतिहासिकस्थल हतुवागढी संरक्षण समितिले संस्कृति, पर्यटन एवं नागरिक उड्ययन मन्त्रीसमक्ष ज्ञापनपत्र ।

४. वि.सं. २०६५ मा किरात राई यायोक्खाले हतुवागढीको संरक्षणको लागि रक्षा मन्त्रालयमा ज्ञापनपत्र दिएको ।

निष्कर्ष:

अध्ययनको सन्दर्भमा प्राप्त श्रोतहरूको आधारमा हतुवागढी दरबारको भग्नावशेष किरातकालीन भएको निश्चित छ । भग्नावशेषले दरबार विशाल रहेको झल्को दिएको पाइन्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा किरात सेना र गोरखासेनाको बीच युद्ध हुँदा किरात राज्यको हतुवागढी र दरबार विनास हुन पुगेको थियो । गोरखाली सेनाबाट पराजयपछि तत्कालीन किरात राजा आफ्ना समर्थकसहित भारततिर प्रवेश गरेका थिए । त्यसपछि सुनसान बनेको यो ठाउँ वि.सं. २०३२ सालमा सगरमाथा उच्च मावि स्थापना भएपछि करिब २ सय दुई वर्षको लामो समय अन्तरालमा अहिलेको घोडेटार बजारको स्थापनापछि मान्छेको चाप वृद्धि हुँदै गयो । बल्ल यस हतुवागढी दरबारको भग्नावशेषले पुन: चर्चा पाउन थाल्यो । परिणामत: वि.सं. २०४६ सालमा हतुवागढी संरक्षण समिति स्थापना गरेर संरक्षण खातिर गतिविधिहरू प्रारम्भ हुन थालेको हो ।

स्थानीय निवासी र पुरातत्व विभागको आँखामा राष्ट्रिय सम्पदाको रूपमा परेको हतुवागढी दरबारमा द्धन्द्धकालको अवसर पारेर नेपाली सेनाले कब्जा जमाउन पुग्यो । त्यसपछि भने पुरातात्विक महत्वलाई ओझेल पार्दै दरबारको भग्नावशेषलाई मात्र जोगाएर वरपर रहेका अन्य अवशेषहरूको विनाश गरेर क्याम्प खडा गर्‍यो । नेपाली सेनाको यस कदमले नेपाली पुरातत्व, इतिहास र मानवशास्त्रीय अध्ययनको एक संभावित प्राप्तिको ढोकालाई बन्द गर्न पुग्यो । अहिले द्धन्द्धकाल समाप्त भएर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यावस्था स्थापना भएको छ । यस अवस्थामा पनि जनचासोको विषयप्रति सम्बन्धित सरकार, सरकारी सम्बन्धित निकायहरू पुरातत्व विभाग, रक्षा मन्त्रालय र नेपाली सेनाको ध्यान नपुग्नु दु:खलाग्दो कुरा हो ।

यस ऐतिहासिक तथा पुरातात्विक हतुवागढी दरबारको संरक्षण गर्न नागरिक पक्ष जागरुक रहनु सकरात्मक पक्ष हो । यस कदमलाई साथमा साथ दिदैँ सरकारका सम्बन्धित निकाय पुरातत्व विभागले पनि चासो दिइ उत्खनन् अध्ययन कार्य गरी यथास्थिति अवस्था स्थापना गर्नु शिघ्र आवश्यक छ । यस्तै भग्नावशेषको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई ध्यान दिएर नेपाली सेनाले पनि भग्नावशेषसँग नजिक रहेका आफ्ना व्यारेक घरहरूलाई त्यहाँबाट हटाउन र सहजले नागरिकहरूको उपस्थिति हुन सक्ने वातावरण निर्माण गर्न आवश्यक देखिन्छ । यी कार्यहरूले नै राष्ट्रिय गरिमालाई उँचो बनाउन मदत गर्दछ ।

 

सन्दर्भ स्रोत:

अर्जेल, ऋषिराम, २०४२ । माझकिरात, भोजपुर: राजेन्द्र प्रधान ।

आचार्य, बाबुराम, २०५६ । नेपालको संक्षिप्त वृत्तान्त, काठमाडौं: अन्तर्राष्टिय मञ्च ।

कार्की, डा. गोविन्दमानसिंह, २०६५ । वि.सं. २००७ सालको जनक्रान्तिमा भोजपुर, काठमाडौं/नादरमुनि थुलुङ स्मृति परिषद् ।

राई, विष्णु एस,  २०६७ । खम्बुवानबाट हराएका सन्तानहरू, काठमाडौं: लेखक स्वयम् ।

राई,  हर्कहाङ, २०६० । हतुवागढी स्मारिका,  भोजपुर: हतुवागढी स्मारिका प्रकाशन समिति ।

राई, हिमाल, २०५८ । हतुवागढीको ऐतिहासिक-सांस्कृतिक अध्ययन, काठमाडौ: अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि.वि. ।

शर्मा, बालचन्द्र, २०२७ । नेपालको ऐतिहासिक रूपरेखा, वाराणासी: श्रीमति कृष्णकुमारी देवी ।

शिवाहाङ, जय, २०६४ । जननायक सहिद रामप्रसाद राई आलोचनात्मक इतिहास, …….: भुवनकुमारी राई र कृष्णकुमारी राई ।

सूचना विभाग, २०३१ । मेचीदेखि महाकाली, काठमाडौं: श्री ५ को सरकार ।

 

स्रोत व्यक्तिहरू:

ईश्वरमान राई, वर्ष ६०, रानीबा-८ घोरेटार, भोजपुर ।

हर्कराज हाङ राई, वर्ष ६८, रानीबास- ८ घोरेटार, भोजपुर ।

यो लेख ‘प्राचीन नेपाल’मा २०७४ असार, सङ्ख्या १९५ मा प्रकाशित भएको हो । लेखकसँग अनुमति लिई यो लेख यहाँ प्रकाशित गरिएको हो  ।  -सम्पादक

1 COMMENT

LEAVE A REPLY