जनकमाया तथा भुइँदल राई फाउन्डेसनबाट पुरस्कार वितरण

0
69
पुरस्कार अर्पण गर्नुहुँदै गंगाराज राई ।

फागुन ३०, घोडेटार, भोजपुर ।
‘श्रीमती जनकमाया तथा भुइँदल राई फाउन्डेसन २०७५’ र श्री सगरमाथा मावि घोडेटार भोजपुरको संयुक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता र पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । २०७९ फागुन ३० गते सम्पन्न सो कार्यक्रममा फान्डेसनको अध्यक्ष गंगाराज राईले २०७८ सालमा हतुवागढी गाउँपालिका भरिका विद्यालयहरूबाट एस.इ.इ. र आधारभूत परीक्षामा सर्वश्रेष्ठ छात्राहरूलाई प्रमाणपत्रसहित जनही ५ हजार ५ सय ५५ रुपैयाँको ‘श्रीमती जनकमाया राई स्मृति पुरस्कार’ प्रदान गर्नुभएको थियो । एस.इ.इ. तर्फ श्री सगरमाथा माविको छात्रा तीर्था राई तथा आधारभूत विद्यालयस्तरिय परीक्षामा पनि सोही विद्यालयको चासुम राईले सो पुरस्कार प्राप्त गरेका थिए ।
वक्तृत्वकला सम्पन्न
सोही समारोहमा अध्यक्ष राईले ‘श्रीमती जनकमाया तथा भुइँदल राई स्मृति छात्रा÷छात्र वक्तृत्वकला प्रतियोगिता २०७९’ को विजयी छात्राछात्रहरूलाई प्रमाण पत्र पुरस्कार वितरण गर्नुभएको थियो । फागुन २९ गते सम्पन्न ११ वटा आधारभूत विद्यालयहरूबाट १९ जना विद्यार्थीबीच ‘हतुवा थुममा शिक्षाको ज्योति फैलाउन पुर्खाहरूले गरेको योगदान’ विषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । अध्यक्ष राईकै सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा श्री शान्ति आधारभूत विद्यालयकोे अनिष श्रेष्ठ प्रथम, श्री सगरमाथा माविको नमूना राई दोस्रो र श्री भीमेश्वरी आविको सुमित राउत तेस्रो भएका थिए । श्री पञ्चकन्या भगवती आविको सुुदीप खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित क्रमशः दश हजार पाँच, सात हजार पाँच, पाँच हजार पाँच रुपैयाँ र तीन हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
श्री सगरमाथा माविका सञ्चालक समितिको अध्यक्ष तथा पूर्व प्रधानाध्यापक ईश्वरमान राईको सभापतित्व, हतुवागढी गाउँपालिकाको अध्यक्ष प्रेमकुमार राई प्रमुख अतिथि, उपाध्यक्ष सुनिता किराती विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त संयुक्त पुरस्कार वितरण समारोहमा ‘स्व. श्रीमती जनकमाया तथा भुइँदल राई फाउन्डेसन २०७५’, स्व. हस्तबहादुर तथा पञ्चमाया स्मृति पुरस्कार, मौसम राई पुरस्कार, हतुवाली ब्रदर्स ग्रुप लगायत करिब १ दर्जन स्मृति पुरस्कारहरू तथा विद्यालयबाट प्रदान गरिने नियमित पुरस्कारहरू वितरण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयको प्रअ हेमराज न्यौपानेले गर्नुभएको भएको थियो । प्रमुख अतिथि प्रेमकुमार राई, अध्यक्ष ईश्वरमान राई, हस्तबहादुर तथा पञ्चमाया स्मृति पुरस्कारको संस्थापक हर्कराज हाङ, स्व. श्रीमती जनकमाया तथा भुइँदल राई फाउन्डेसन २०७५ को अध्यक्ष गंगाराज राई र सचिव किवाङहाङ राईले कार्यत्रममा सम्बोधन गर्नुभएको थियो । कार्यक्रम सन्चालन विद्यालयको सहायक प्रधानाध्यापक प्रकाश बान्तावा राईले गर्नुभएको थियो ।
श्री सगरमाथा माविको समन्वय र व्यवस्थापनमा वितरण हुने ‘श्रीमती जनकमाया राई स्मृति पुरस्कार’ यस क्षेत्रको सबैभन्दा जेठो पुरस्कार हो, जुन आफ्नो आमा जनकमाया राईको अल्पायुमै २०४८ मा मृत्युपछि उहाँका छोरा–छोरीहरू गंगाराज, पार्थराज, चङ्मायुमा, हाङकोनयुमा, छेन्मुयुमा, किवाङहाङ र खाङमेदहाङ राईले २०४९ मा ‘श्रीमती जनकमाया राई स्मृति पुरस्कार गुठी २०४९’ स्थापना गरी हतुवा थुम क्षेत्रबाट एसएलसी र जिल्लास्तरिय परीक्षामा सर्वश्रेष्ठ छात्राहरूलाई वार्षिक रूपमा पुरस्कृत गरिँदै आएको हो । यसै बीच स्मृति पुरस्कार गुठी संस्थापकहरूले आफ्नो वयोवृद्ध पापा भुइँदल राईको नाममा समेत शैक्षिक प्रेरणाको कार्य गर्ने भनी २०७५ सालमा साविक श्रीमती जनकमाया राई स्मृति पुरस्कार गुठी २०४९ लाई ‘स्व. श्रीमती जनकमाया तथा भुइँदल राई फाउन्डेसन २०७५’ नाममा परिवर्तित गरी यस संस्थाबाट दुवै कार्यक्रम सञ्चालन गरी तत्कालीन माझकिरात भोजपुरको दक्षिणी भेग हतुवा थुममा शैक्षिक प्रेरणाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । आ–आफ्नो क्षेत्रमा नयाँ पिढीको युवा र बालबालिकाहरूलाई आफ्नो माता पिता पुर्खाहरूले शिक्षाको लागि गरेको योगदानलाई बोध गराउन र ती योगदानहरूलाई इतिहासको रुपमा तयार गर्न सकुन् भन्ने उद्देश्यले फाउन्डेसनले प्रथमपटक सञ्चालन गरेको वक्तृत्वकला प्रतियोगिताको विषय ‘हतुवा थुममा शिक्षाको ज्योति फैलाउन पुर्खाहरूले गरेको योगदान’ भन्ने चयन आफुले गरेको बताउदै फाउन्डेसनको सचिव किवाङहाङ राईले वक्तृत्वकला प्रतियोगिताले नयाँ पिढीको विद्यार्थीहरूको प्रतिभा स्फुरण हुने, आफ्नो माता पिताको विशेष योगदानलाई मनन गर्दै आफ्नो माता पिताको सेवा गर्न तम्तयार हुने विश्वास व्यक्त गर्नुभएको छ । किरात राई यायोक्खाका संस्थापक अध्यक्ष गंगाराज राई र उहाँका भाइबहिनीहरूले आजभन्दा ३० वर्ष अघि नै आफ्ना आमा स्व. श्रीमती जनकमाया राईको नाममा स्मृति पुरस्कार गुठी स्थापना गरी शैक्षिक पुरस्कार दिने कार्यको थालनी गरेको काराण अरुलाई प्रेरणा मिलेकोले यस विद्यालय लगायत विभिन्न स्कुलहरूमा आफ्नो दिवंगत पापाआमा वा प्रियजनहरूको नाममा पुरस्कार कोषहरू खडा भएको कुरा श्री सगरमाथा माविका पूर्व प्रधानाध्यापक तथा सञ्चालक समितिको अध्यक्ष ईश्वरमान राईले बताउनुभएको छ । प्रधानाध्यपक हेमराज न्यौपानेले भन्नुभयो– ‘सगरमाथा माविमा दर्जनौ पुरस्कार कोष खडा हुनुमा जेष्ठ पुरस्कार कोष ‘श्रीमती जनकमाया राई स्मृति पुरस्कार गुठी २०४९ नै हो ।’
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यालयहरूलाई व्यवस्थापन खर्च, सहभागी विद्यार्थीहरूलाई समान रूपमा खाजा खर्च र सहभागी विद्यालयहरूलाई यातायात खर्च प्रदान गरिएको थियो । आयोजक र सहभागी विद्यालयतर्फ व्यवस्थापनतर्फ चौध हजार बीस रुपैयाँ, खाजातर्फ सात हजार रुपैयाँ, यातायात खर्चतर्फ नौ हजार छ सय रुपैयाँ र पुरस्कारतर्फ छत्तीस हजार एक सय तीस गरी छैसठी हजार सात सय पचास रुपैयाँ रकम खर्च भएको छ । फाउन्डेसनको आन्तरिक तयारी व्यवस्थापन खर्चतर्फ पनि करिब चालीस हजार रुपैयाँ खर्च भएको कुरा फाउन्डेसनको सचिवले जानकारी दिनुभएको छ ।
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यालयहरू यसप्रकार छन्–
१) श्री सगरमाथा उच्च मावि घोरेटार
२) श्री भीमेश्वरी आवि सल्ले
३) श्रीपन्चकन्या भगवती आवि हर्का
४) श्री शखरानी आवि दितेनी
५) श्री शिशु शिक्षा विकास आवि सिन्द्राङ
६) श्री प्रजातन्त्र मावि होम्ताङ
७) श्री शान्ति आवि सोया
८) श्री जनज्योति मावि पात्लेपानी
९) श्री पन्चकन्या आवि लुङथुङ
१०) श्री गैयाराज आवि पिप्ले
११) श्री जनसेवा मावि हसनपुर ।

फोटो श्रोतः किवाङहाङ राई ।

LEAVE A REPLY