बुङ्वाखा संरक्षक क्याप्टेन ढुण्डीराज सुच्चा राईको शब्दमा ‘सप्तकोशी जेट बोट’ गीतको भिडियो उद्घाटन गरिएको छ । पूर्व ब्रिटिश आर्मी राईको यो पाँचौं भिडियो गीत हो । मनोज साङसोन राईको संगीत रहेको यो गीतलाई कृष्णभक्त राई र लीला राईले गाउनुभएको छ । यो गीतको भिडियो निर्माता चङमायुमा राई रहनुभएको छ ।
असार १३ गते ललितपुरस्थित यो गीतको भिडियो किरात राई यायोक्खाका संस्थापक अध्यक्ष गंगाराज राई र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष जीतपाल किरातले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
सो कार्यक्रममा आफ्नो गीतलेखनबारे प्रष्ट पार्दै ढुण्डीराज राईले सप्तकोशी जेट बोट गीतको सङ्गीतकार, गायक, गायिका, भिडियो निर्माण र सबैलाई धन्यवाद दिनुभएको थियो ।
किरात राई यायोक्खाका केन्द्रीय सदस्य, अधिवक्ता तथा पूर्व एसएसपी किवाङहाङ राईले भिडियो हेरिसकेपछि ढुण्डीराज सुच्चा राईका गीतहरू गाउँ र समुदायको लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको थियो ।
भिडियो निर्माता चङमायुमा राईले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो ।
भिडियो/फोटो एल्बम निर्माण जस्केलो क्रियशनको लागि धन खालिङले गर्नुभएको हो । यो गीतको मिडिया पार्टनर बुङ्वाखा रहेको छ ।