काठमाडौं/असार ९
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सव (असार ९ गते)का अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम हुनुभएको छ । भर्चुअल माध्यमबाट आयोजित कविता प्रतियोगितामा राईको ‘देशको नक्सा’ शीर्षकको कविता प्रथम भएको हो ।
धादिङकी अमृता स्मृतिको ‘डढेलापछि पनि वसन्त आउँछ’ दोस्रो भएको छ । ताप्लेजुङकी सबिता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरन्जनकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधीसत्वको खोप’ शीर्षक कविताहरू तेस्रा भएका थिए ।
प्रथम घोषित राई भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ पानधारेस्थित पञ्जप्रकाश आधारभूत विद्यालयको शिक्षिका हुनुहुन्छ । २०३८ साउन ८ गते भोजपुरको षडानन्द नगरपालिका–१२ देउरालीमा जन्मनुभएका कवि राईको ‘आमा र जून’ कवितासंग्रह प्रकाशित छ । त्यसैगरी ‘गुरु’ उपन्यास प्रकाशोन्मुख रहेको छ । उहाँ बान्तावा राई भाषामा समेत साहित्य सिर्जना गर्दै आउनुभएको छ ।
सानैदेखि साहित्यप्रति रुचि राख्नु हुने कविता राई कक्षा ८ मा पढ्दै गर्दा २०५२ सालको वीरेन्द्र शिल्ड गीति रचना प्रतियोगितामा प्रथम पुरस्कार पाउनुभएको थियो । ‘देउरालीको डाँडा हजुर वरपीपरलको छायाँ, जति टाढा गयो हजुर उति गाढा हुन्छ माया’ शीर्षक गीत रहेको उहाँ बताउनुहुन्छ । उहाँले काठमाडौंमा २०७४ साल असारमा एक कविता वाचनसमेत गर्नुभएको थियो । उहाँले ‘दैवज्ञराज न्यौपाने स्मृति पुरस्कार–२०७६’ बाट सम्मानित हुनुभएको छ ।
प्रथम भएको कविता
