बुङ्वाखा/ललितपुर
भोजपुरको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईसँग बुङ्वाखा खिम्पाङको भेट भएको छ । बुङ्वाखाको तर्फबाट सम्पादक पदम राई र सहसम्पादक दीपक बान्तावाको सहभागिता रहेको थियो ।
आगामी २०७८ मङ्सिर २४ गते ‘बुङ्वाखाको १७औं वार्षिकोत्सव’ कहाँ मनाउने भन्ने बारे अहिलेदेखि नै सो सम्भावित स्थानको खोजी भइरहेको छ । सो स्थानबारे आगामी चैत २६ गते इटहरी हुन गइरहेको ‘बुङ्वाखा १६औं वार्षिकोत्सव’को दिन घोषणा गरिनेछ । सो सन्दर्भमा उहाँसँग गत मार्च २० तारिख ललितपुरमा भेटघाट भएको हो ।
सो अवसरमा आगामी सालको बुङ्वाखाको कार्यक्रम आमचोकमा गर्न सकिन्छ कि भनी बुङ्वाखाको प्रस्तावमा अध्यक्ष राई सकरात्मक देखिनुभएको छ । ‘बुङ्वाखाको कार्यक्रम हाम्रो गाउँपालिकामा ल्याउनुभए के, कसरी सहयोग गर्नुपर्ने, हामी तयार छौं,’ उहाँले भन्नुभएको छ । उहाँले थप्नुभयो- ‘भाषा, संस्कार-संस्कृतिमा टेवा दिनु गाउँपालिकाको पनि कर्तव्य हो ।’
भोजपुरको दक्षिण-पश्चिममा अवस्थित आमचोक गाउँपालिकामा बान्तावाभाषी समुदायको सघन बसोबास रहेको छ । उक्त पालिका र सो क्षेत्रमा आमचोके बान्तावा भाषा बोल्ने गरिन्छ ।