शिक्षामा गोर्खा सैनिक अभिभावकको लगानी
वीरेन्द्र प्रसाद राई (नाम्नु)
अहिलेको जमानामा संसारकै सबैभन्दा ठूलो हतियार भनेको शिक्षा नै हो भन्ने सावित भएको छ । म एक बुबाको नाताले छोराछोरीहरूको शिक्षालाई कसरी राम्रो तरिकाले अगाडि बढाउने र भविष्यमा उनीहरूलाई संसारको कुनै पनि ठाउँमा आफनो विवेकले सहजै काम गर्ने र गराउन सक्ने क्षमतावान व्यक्ति बनाउने मेरो ठूलो सोंच थियो । त्यसको लागि असल शिक्षाको वातावरण घरैबाट चाहिन्छ भन्ने मलाई राम्ररी ज्ञान थियो । मैले त्यसको लागि निरन्तर कदम चालिरहें ।
राम्रो शिक्षा प्रदान गर्नको लागि स्कुलका शिक्षकहरू पनि त्यस्तै वातावरणबाट आएका हुनुपर्छ । गुणात्मक शिक्षाको लागि उचित पूर्वाधारहरू भएका स्कुल र कलेजहरू पठनपाठनका लागि खर्चिलो पनि त्यत्तिकै हुन्छन् ।
छोराछोरीहरूका पढाइको लागि म दृढ विश्वासका साथ अगाडि बढिरहें । धरानस्थित जुनियर पायोनियर स्कुलबाट उनीहरूको पढाइ सुरु भयो । त्यो स्कुलमा पढ्दै जाँदा कक्षामा उनीहरूले प्रथम र दोस्रो स्थान ओगट्न थाले । मलाई लाग्यो– ‘अब नानीहरूलाई पढाइमा थप उत्साहित गर्नुपर्छ ।’ उनीहरूलाई पढाइमा थप प्रोत्साहन कसरी गर्न सकिन्छ भन्ने कुराको खोजीमा लागें ।
‘भोकलाई खीर’ भनेझैं बुझ्ने क्रममा ब्रिटिस गोर्खा वेल्फेयरबाट जेहेन्दार विद्यार्थीको लागि Student Grant रहेछ । म पनि सेवानिवृत्त ब्रिटिस सेना भएको हुँदा मेरा सन्तानहरूले पनि त्यसमा निवेदन पेश गर्न पाउने भए । उक्त ग्रान्ट पाउने मापदण्ड भनेको विद्यार्थीहरूले वार्षिक परीक्षामा ९५ प्रतिशतभन्दा बढी नम्बर ल्याएर उत्तीर्ण भएको हुनुपर्ने र विद्यार्थीहरूको प्रमाणपत्र देखाएर फोटोकपी बुझाउनुपर्दथ्यो ।
नेपालभरिबाट सेवानिवृत्त ब्रिटिस सेनाका कक्षा ४ भन्दा माथिल्लो तह पढ्ने बच्चाहरूको फाराम भराइन्छ । वर्षमा एक चोटी बोर्ड बैठक गरेर ती ९५ प्रतिशत वा सोभन्दा बढी नम्बर प्राप्त गरेकाहरूमध्ये उल्लेख गरिएबमोजिम उत्कृष्ट विद्यार्थी छनोट गरिन्छ । उनीहरू छनोट भएमा अभिभावकलाई वर्षमा एक चोटी बोलाएर नगद रकम प्रदान गर्ने चलन छ ।
छोरीहरूको प्रोत्साहन होस् भनी विद्या राई र विवेका राईको नाममा फाराम भरेर आवश्यक कागजपत्रहरू बुझाएको थिएँ । छोरीहरू छानिएको खबरसहित दुवै जना छोरीहरूका नगद रकम लिन आउनुहोस् भनी वेल्फेयर अफिसबाट बोलावट भयो । मैले सो अफिसमा लगेर उनीहरूलाई आफ्नै हातले पैसा लिन लगाएँ ।
छोरीहरूले पैसा पाएपछि उनीहरू खुसी हुने नै भए । ‘यो पैसा के गर्ने ?’ भनी सोधें । विद्याले ‘चार इन्च अग्लो स्याण्डल किन्छु’ भनिन् । मैले सोचें– ‘यत्रो अग्लो स्याण्डल लगाउनु जानिनन् भने खुट्टा मर्काउछे ।’ ‘यो त हुँदैन छोरी’ भनें । छोरीले किन्ने नै कर गरेपछि मैले भने– ‘यो लगाएर क्याटवाक गरेर देखाउनु त !’ उनले पनि लगाएर पसलको वरिपरी एक फन्का लगाएपछि मैले उनलाई स्याण्डल किन्ने अनुमति दिएँ । विद्याले धरानस्थित जेपिएस् कक्षा ६ मा पढ्दा दुई वटा निबन्ध र एउटा कविता स्कुलका जर्नल The Pioneer मा छापिएका थिए । जसमध्ये उनले लेखेको निबन्धहरू र कविता यस्ता थि—
Our Society and Social Perversion
Drug addiction is one of such major problems, prevailing among the youths. Youths easily fall in drug addiction mainly due to depression, frustration and temptation….
Our Country
Our Country is Nepal. It is full of many geographical features. Life Water resources, forests, mountains, etc. has made our country beautiful…
कविता
हिमाल, हिमालबाट बगी आउँछ स्वच्छ पानी
खेर जान नदिउँ यसलाई उपयोग गरौ हामी ।
विद्याले कक्षा ७ देखि ९ सम्म लिटल एन्जेल्स् स्कुल हात्तीवन, ललितपुरमा पढिन् । जुन समयमा अतिरिक्त क्रियाकलापमा नृत्य र Junior Achievement Economics for success विषयमा भाग लिएर Certificate of Achievement प्राप्त गरेकी थिइन् । वि.सं. २०६३ बाट विद्याले बेलायतको Girls Grammar School Folk stone, Kent मा पढ्न थालिन् । पछि उनले Certificate in Psychotherapy and Counselling Regent’s University, London बाट पुरा गरिन् । अहिले Sales Consultant at watches of Switzerland official मा आवद्ध भई थप अध्ययन गर्दैछिन् ।
विवेका छोरीले धरान ८ स्थित J.P.S. मा प्ले ग्रुपदेखि कक्षा ७ सम्म पढिन् । त्यसपछि लिटल एन्जेल्स स्कुल हात्तीवन ललितपुरबाट कक्षा ८ देखि प्लस टुसम्म पढिन् । कक्षा ८ र ९ मा पढ्दा करिब ८ सय ५५ जना विद्यार्थीहरूबाट छानिएर Class Honour Merits card holder भएकी थिइन् । उनी कक्षाको उत्कृष्ट, अनुशासित र जेहेन्दार छात्रा भएकोले सबै कोणबाट उनी नै अब्बल ठहरिएकीले सबै छात्र, छात्राहरूबाट उनी यो कार्ड पाउन सफल भएकी हुन् ।
काठमाडौँ विश्वविद्यालयअन्तर्गत काठमाडौं मेडिकल कलेज सिनामङ्गलबाट एम्बिबिएस् उनले सन् २०१९ अक्टोबर ४ मा पास गरिन् । उनले नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरेपछि काम र थप अध्ययनको लागि युके प्रस्थान गरिन् । युकेमा उनले PLAB (Professional and Linguistic Assessments Board) गरिरहेकी छिन् । किनकि, यो पास नगरिकन युकेको कुनै पनि अस्पतालमा काम गर्न अनुमति पाइँदैन ।
विश्व छोराले पनि दिदीहरूले पढेका J.P.S. बाट प्ले ग्रुपदेखि कक्षा ५ सम्म पढे । त्यसपछि युनाइटेड स्कुल सातदोबाटो ललितपुरमा कक्षा ७ पास गरे । कक्षा ६ मा पढ्दा JEET HAMRO Pvt. Ltd ले Little Mr or Miss competition सन् २००६ मा गराउदा विश्व राईले Best Performance उपाधि पाएको थियो । कक्षा ७ देखि एसएलसीसम्म St-Xavier’s Godavari School मा पढे । २०६७ को एसएलसीमा उनले डिष्टिङ्सनसहित पास गरे । उनले गोदावरी स्कुलमा पढ्दा Mental Arithmetic Contest, English spelling contest, Nepali spelling contest मा भाग लिएर Merit Honour card Grade, Golden card 2007, 2008 मा पाएका थिए । यसबाहेक स्काउटमा करिब तीन वर्ष आवद्ध भई दुःखी, असहाय र बुढापाकालाई कसरी सम्मान, आदर र सेवा गर्नुपर्छ भन्ने कुराहरू पनि सिकेको उनीसँग अनुभव छ । स्कुल छुट्टिको समयमा वृद्धाश्रममा गएर बुढापाकाहरूको नङ काटिदिएको, फलफूल बाँडेको र ठाउँठाउँमा सरसफाइमा सरिक भएकोे अनुभवहरू विश्वले मलाई सुनाउने गर्दथ्यो । स्काउटबाट छानिएर कक्षा ७ मा पढ्दा करिब १०–११ वर्षको उमेरमा भारतमा Jamboree (स्काउट भेला)को लागि सरिक भएको थियो । विभिन्न देशबाट स्काउटमा छानिएर आएकासँग आफ्नो भिजिटिङ कार्ड आदानप्रदान गर्नुको साथै बिहानै उठेर तोकेको समयमा सिट्टी फुकेर गर्नुपर्ने क्रियाकलाप गरेर अनुशासन र अन्य कुरा सिकाइएको कुराहरू पनि छोरा विश्वले परिवारलगायतमा सुनाएका थिए ।
St. Xavier’s Jawalakhel कलेजबाट प्लस टुपछि वि.सं. २०६९, भदौ ३१ गते थप अध्ययनको लागि उनी बेलायत गएका थिए । थप अध्ययनको क्रममा उनले University of London, Royal Holloway (UK) बाट Bachelor of Science, Management with Accounting बाट July 1st, 2019 मा डिग्री लिएका छन् । उनले त्यसपछि CEMAP (Certificate in Mortgage Advising and Practice) Extra course गर्दै गरिरहेका छन् । सो पूरा भएपछि उनले MBA पढ्ने योजना बनाएका छन् ।
नखिपोट–१४, ललितपुर
…
बुङ्वाखा- १८५ दाङका