मोहन दुङ्माली
हिन्दू ग्रन्थको मान्यताअनुरूप शिवको बासस्थान तिब्बतमा अवस्थित कैलाश पर्वतलाई मानिन्छ । कैलाश पर्वतको अगाडिपट्टिको पवित्र पोखरी मानसरोवरले कैलाश पर्वतलाई सुशोभित गरेको छ । कैलाश पर्वतलाई हिन्दुहरूले मात्र नभएर अन्य धर्मावलम्बीहरूले पनि यसलाई पवित्र देवस्थान मान्छन् । कैलाश पर्वत समुद्र सतहको करिब २१ हजार फिट उचाइमा अवस्थित छ । मानसरोवर पोखरीलाई देव, महादेव, स्वयं माता पार्वतीले पनि स्नान गर्ने पवित्र पोखरी भन्ने मान्यता पनि छ ।
जसरी हिन्दु अनुयायीहरूले कैलाश पर्वतलाई पवित्र देवभूमि अनि मानसरोवरलाई पवित्र पोखरी भनी मानेर पुज्ने गर्दछन्, त्यसरी नै किरात खम्बु राईहरूले पनि नेपाल राज्यको प्रदेश नम्बर १ मा पर्ने साल्पा पोखरी अनि सिलिचुङ डाँडालाई आफ्नो देवभूमिको रूपमा युगौंयुगदेखि पुज्दै आइरहेका छन् । जब किराती माङ्पाहरूले रिसिवा, ससि अनि मुन्दुम गाउन थाल्छन्, तब यस पवित्र साल्पा पोखरी अनि सिलिचुङको नाम उच्चारणसहित यसको महत्व, अस्तित्व अनि रहस्य खोतल्दै जान्छ । अघि भनेझैं भदौरे पूर्णे अनि मङ्सिरे पूर्णेमा खम्बु राईमात्र नभएर अन्य धर्मावलम्बीका पुजारीहरू जस्तै– माङ्पाहरू मात्र नभएर फेदेङ्बा, पौवा, झाँक्री, लामा, बुद्विष्टहरू साल्पा अनि सिलिचुङलाई सेवा चढाउनु अनि शक्ति माग्नु हजारौंको सङ्ख्यामा पुग्ने गर्दछन् । सन्तान नभएका धेरै दम्पतिहरू सन्तान प्राप्तिको भाकल गर्न, बोली नफुटेका शिशुहरूको बोली फुटोस् भन्ने भाकल अनि अन्य भाकलहरू लिएर श्रद्धालुहरू पनि साल्पा पोखरी अनि सिलिचुङ डाँडाको दर्शन गर्न पुग्ने गर्दछन् ।
माङ्पाहरूको भनाइमा मामा सुम्दिमा अनि पापा पारुहाङले आफ्नो दैविक शक्तिद्वारा संसारको सृष्टि गर्नुभयो । यसको साथसाथै सिलिचुङ र साल्पा पोखरीको पनि रचना गर्नुभयो । यसै रचनासहित मामा सुम्दिमा अनि पापा पारुहाङ मुन्दुमी शक्तिद्वारा साल्पा पोखरीबाट यस भू–लोकमा प्रकट हुनुभयो ।
उपरोक्त कुराहरू म आफ्नो गाउँमा सानो हुँदा सुन्ने गर्थें । म पनि खम्बुको सन्तान भएको हुनाले ठूलो भएर साल्पा पोखरी अनि सिलिचुङको दर्शन गर्ने मनमा चाहना पलाउन थाल्यो । एक्काइस वसन्त पार गरेपछि साल्पा अनि सिलिचुङ जाने मेरो मनोकामनालाई पूरा गर्ने हेतुले साम्खा, सुप्तुलुङ, पितृ–माङलाई सेवा चढाउँदै अनि बल माग्दै घरबाट सुटुक्क बाहिरिएँ ।
मेरो निम्ति साल्पा–सिलिचुङ नौलो ठाउँ, नाम मात्र सुनेको, कहिले नपुगेको, साथी पनि छैन । तरै पनि जसरी खोला–नाना, खहरेहरू आफ्नो पूर्वज समुद्रलाई भेट्न लडदै पड्दै, उर्लदै बाटो बनाउँदै बगिरहन्छ, त्यसरी नै म पनि सम्पूर्ण बिघ्न बाधाहरूलाई पन्साउँदै साल्पा–सिलिचुङको यात्रामा अघि बढ्दै धरान पुगें । जुन बेला म साल्पाको यात्रामा निस्किएको थिएँ, त्यस समयमा धरानदेखि उता सडक मार्ग निर्माण भएको थिएन । गाडी, घोडाको पनि कुनै व्यवस्था थिएन । धरानबाट पैदल आफ्नो यात्रालाई अघि बढाउँदै केही दिनपछि भोजपुरको लेगुवाटारमा बास बस्न पुग्छु । लेगुवाबाट तुम्लिङ्टार, कात्तिके पुल, सोताङ गाउँ, सानोफेदी, ठूलोफेदी हुँदै जौंबारीमा एउटा घरमा बास माग्न पुगें । भोलिपल्ट बिलबोटे हुँदै लेकखर्कको बाटो पहिलाउँदै म मेरो गन्तव्यतर्फ निरन्तर पाइला बढाइरहें । एकै दिनमा मेरो गन्तव्य पुग्न सम्भव थिएन । बाटोमा एक–दुई वटा घर भेट्थें । बाटो सोध्दै अगाडि बढिरहें । जति अगाडि बढियो, त्यति नै गाउँहरू भेट्न छोडियो । धेरै दिनको हिँडाइले शरीर पनि क्लान्त अनि शिथिल हुँदै आयो । आफ्नो लक्ष्यमा पुग्न कति छ, सो आफूसँग ज्ञान पनि छैन । बिस्तारै उज्यालोलाई अन्धकारले अँगाल्न थाल्यो । बाटोमा कुनै मानिस र घर पनि भेट्न छोडियो । मनमा कता–कता भय उत्पन्न पनि हुन थाल्यो । आज कहाँ बास र गाँसको चाँजो होला ? त्यतिमात्र नभएर रातमा हिंस्रक जङ्गली जनावरहरूले आक्रमण गरे कसरी बाँच्ने भन्ने चिन्ताले पनि सताउन थाल्यो । दश मिनटजति उकालो हिँडेपश्चात एउटा ठाउँमा पुग्दा ठूलो चप्लेटी ढुङ्गा भेटें र अब जे–जस्तो भए पनि होस्, एकक्षण बिसाउँछु भनेर जिउ छोडेर उत्तानो परी आँखा चिम्म गरेर विश्राम लिएँ । केही क्षणको विश्रामपश्चात शरीरमा ऊर्जा उत्पन्न भयो । म उठेर साम्खा, सुप्तुलुङ, पितृ अनि माङलाई आज रातिको गाँस र बासको प्रबन्धको निम्ति प्रार्थना गरेँ । नभन्दै मेरो प्रार्थनाले साम्खा, सुप्तुलुङ, पितृ अनि माङले सुनेजस्तो लाग्यो । उठेर हेर्दा पारी जङ्लमा अलिअलि धुँवा आएजस्तो देखें । मेरो मन प्रफुल्लित भयो । जिउमा स्फुर्ति आयो । किनकि यत्रो ठूलो जङ्गलमा धुँवा आउनु भनेको कुनै न कुनै मानव प्राणी त्यहाँ बस्दारहेछन् जस्तो लाग्यो । म जुरुक्क उठेर धुँवा आउँदै गरेको दिशातर्फ गाँस र बास पाउने आशाले पाइला बढाउन थालें । करिब आधा घण्टाको लगातार हिँडाइपश्चात म त्यहाँ पुग्न सफल भएँ । साँझ परिसकेको थियो । सानो डेराजस्तो देखिने घरमा मधुर ज्योतिको प्रकाश पनि देखिँदै थियो । म निश्चित भएँ– त्यहाँ कोही मानव प्राणी नै बस्दा रहेछन् । डेराजस्तो देखिने घरको अगाडि पुग्दा एउटा घ्याम्पा राखिएको थियो । छेउमा सुँगुर ‘घ्याँक–घ्याँक’ कराएको पनि सुनें । मनमा सम्झें– यो कुनै किरातीको घर नै रहेछ । मैले मनमनै साम्खा, सुप्तुलुङ, पितृ अनि माङलाई धन्यवाद चढाएँ । घरको अगाडि पुगेर पुकारें– ‘घरमा को हुनुहुन्छ ?’
एक क्षणपश्चात एउटा लगभग ७४/७५ वर्ष पुगेको पाँच फिट जति उचाइ भएको व्यक्ति ढोकामा देखा परे । मलाई हेरेर सोधे– कसलाई खोजेको अनि कहाँबाट आएको ?
मैले उभी–उभी आफ्नो वृतान्त सुनाएँ । त्यसपश्चात उनले मलाई भित्र बोलाएँ । अघि बाहिर धुमिला प्रकाशमा उसको अनुहार राम्रो देख्न सकेको थिइँन । भित्र टुकीको प्रकाशमा हेर्दा उनलाई कता–कता देखेजस्तो, चिनेजस्तो लाग्यो । म हड्बडे मान्छे । उनलाई सोधीहालेँ– ‘सिक्किमस्थित राङ्का गाउँको बरबोटे जेठा यालुङ राईको तपाईं को पर्छ ?’ बुढा तीन छक्क पर्दै टुलुटुलु मलाई हेर्न थाल्यो ।
मेरो प्रश्नको जवाफ नदिएर उल्टो मलाई नै प्रश्न गर्यो– ‘अनि तिमीले चाहिँ बरबोटे जेठालाई कसरी चिन्छौ ?’
मैले पनि ठ्याक्क जवाफ दिएँ– ‘म बरबोटे जेठाको जेठा छोरा, यालुङको छोरा हुँ ।’
बुढा जिल्ल परेर मलाई हेरिबस्यो ।
एक क्षणपछि बुढाले भन्यो– ‘म तिम्रो पितृहाङ यालुङको पापा ।’
म दङ्ग परेँ । यो कस्तो दैव संयोग ! म साल्पा अनि सिलिचुङ डाँडाको दर्शन गर्न हिँडेको मान्छे । लगभग २८ सालअघि हराएको मान्छेसँग आज भेट भयो । म हर्षले प्रफुल्लित भएँ । साम्खा, सुप्तुलुङ, पितृ अनि माङलाई मैले मनमनै सेवा र धन्यवाद चढाएँ ।
मैले बुढालाई शिर निहुराएर ढोग चढाएँ । बुढा कड्किएर करायो– ‘तैंले राई ढोग गर्न पनि जान्दैनस् कि क्या हो ? यालुङले तलाई राई ढोग भुइँ सोहोरेर गर्नुपर्छ भनेर सिकाएन ?’
हतार–हतार मैले भुइँ सोहोरेर ढोग चढाएँ । बुढाले खुशी हुँदै– ‘ठीक छ, आशिष छ’ भन्दै प्रश्न गर्नुभयो– ‘तैले मलाई कसरी ठिमाइस् ?’
बुढोको प्रश्नको जवाफ दिँदै मैले भनें– तपाईं घरबाट सुटुक्कै हराए पनि गाउँले अनि मेरो पापा धुइँपताल तपाईंको खोजीमा लागेको कुरा गरिरहनुहुन्थ्यो । अनि तपाईंको फोटो लिएर सबैसँग सोधखोज अझै पनि गरिरहनुहुन्छ । फोटोको अनुहार र तपाईंको अनुहार मिलेको जस्तो लाग्यो । तपाईंलाई ठिम्याउन खोजेको थिएँ, ठ्याक्क मिल्यो ।
बुढाले आफ्नो प्रतिक्रिया जनाउँदै– ल ठीक छ, बेलीबिस्तारमा बात गर्दै लैजाऊँ भन्दै अगेनामा केही दाउरा थपेर एउटा कालो डेक्चीमा भात बसायो ।
बुढाले एकपटक तोङ्बा सररर तानेपछि भन्नुभयो– ‘तैले साल्पा, सिलिचुङ जाने भाकल राखेर राम्रो गरेछस् । हामी किरातीहरूले हाम्रो साम्खा, सुप्तुलुङ, पितृ–माङ, रावा खोला, साल्पा–सिलिचुङलाई सेवा चढाउँदै जानुपर्छ । यसो गर्नाले सबैको भलो अनि उन्नति पनि हुने गर्छ । यदि हामीले हाम्रो साम्खा, सुप्तुलुङ, पितृ–माङ, रावा खोला, साल्पा–सिलिचुङलाई सेवा चढाउन छोड्यौं भने हाम्रो जाति अनि वंशको पतन हुनेछ ।’ यति भन्दै बुढाले गोजीबाट काँचो पात निकाली खोसेलामा बेह्रेर साम्खाबाट अगुल्टो झिकेर सल्काउनुभयो । अनि सरर तानेर त्यसको धुवाँ हुरुरु नाक र मुखबाट फ्याँक्दै फेरि भन्न थाल्नुभयो– ‘हेर नाम्चुले ! म पनि कति खुशी थिएँ आफ्नो परिवारसँग त्यो राङ्का राई गाउँमा । जहाँ मैले आफ्नो जवानी बिताएको थिएँ । त्यही बरबोटेको चौतारामा तेरो पितृमा सालुमासँग भेट भयो । पछि उनीसँगै विवाह गरें । तर के गर्नु ! आफूले चिताएको जस्तो हुँदैन रहेछ । असारको महिना, तिम्रो पितृमा जेठा राईको रोपाईं सकेर घरमा आएपछि भुँडी दुख्यो भनेर फत्र्याक–फत्र्याक भएर एकै घण्टाको व्यथाले बित्यो । त्यो माइला माङ्पा पनि त्यही रात पारी सिच्छे कान्छाको घरमा चिन्ता बस्न गएको रहेछ । यदि माङ्पा समयमै भेट्न पाएर उपचार गर्न पाएको भए तेरो पितृमा अझै पनि यही संसारमा हुन्थ्यो कि ! तर सबै दैवको लेखनमा चल्नुपर्ने रहेछ ।’
बुढाले आफ्नो प्रसङ्गलाई अघि बढाउँदै भन्न लाग्यो– पितृमाको विरहले म पनि राङ्का छोडेर मनको शान्ति खोज्न भौतारिँदै हिँडे । कहिले कता, कहिले कता गर्दै तीन वर्षको लामो दिशाहीन यात्रामा म यहाँ आइपुगेँ । सायद माङले हो कि केले हो ? मेरो मन यस ठाउँमा अडियो । यहाँ बसेको पनि कति वर्ष भयो ? मलाई यसको ज्ञान छैन । बुढाले विगतका दिनहरूलाई आलो बनाउँदै मलाई भन्न लागे– ‘नाम्चुले तेरो पितृमा जीवित हुँदा त बिहानै उठेर जाँड छानेर दिने गथ्र्यो । उसको हातको छनुवा खाएपछि मलाई दिनभर भोक नलाग्ने । तेरो पितृमा कति जाँगरिलो र लक्षिणको थिइँन् भने नि घरमा पाहुनापात आएको खण्डमा सबैलाई छनुवा अनि खाना खुवाएर मात्र पठाउने गथ्र्यो ।’
‘घरमा एक–दुई वटा सुँगुर अनि दश–बाह्र वटा कुखुरा त पालेकै हुन्थ्यो । सुँगुर, कुखुरा नपालेर पनि के गरोस् । भदौरे, मङ्सिरे भनेको त तलाई थाहा छ होला नि ? भदौरे यानेकि उँभौलीमा तीन वटा अनि मङ्सिरे यानेकि उँधौलीमा सात वटा कुखुरा चाहिन्छ नै । जाँडको छोक्रा र रक्सी पारेको कट पनि कता फ्याक्नु । सुँगुर पाल्नै पर्यो । भकारीका भकारी घरमा कोदो, धान अनि मकै तेरो पितृमाले थन्क्याउने गर्थिन् ।’
‘अनि, नाम्चुले ’ तेरो पापा यालुङ जेठा कस्तो छ ? यालुङले अहिले साम्खाको स्याहारसुसार गर्दैछ कि छैन ? माङसेवाहरू गर्दैछ कि छैन ? साम्खामा कहिले मि निभ्नु हुँदैन । किनकि मि माङ, साम्खा माङ अनि पितृ माङले हामीलाई सधैं रक्षा गर्ने गर्दछ । अहिले तेरो पापाले उँभौली र उँधौली गर्दैछ कि छैन ? उँभौली भनेको भदौ महिनामा गर्ने माङ पूजा हो । यो माङ गर्दा बिहानै अरू कसैले नदेखीकन गरिसक्नुपर्छ । यदि अरूले यो पूजा गरेको देख्यो भने हामीले गरेको विन्ती माङले पूरा गरिदिँदैन भन्ने विश्वास छ ।’
‘नाम्चुले तँलाई थाहा छ कि छैन, यो उँभौली माङ राई जातिहरूको निम्ति एउटा विश्वशान्ति पूजाजस्तै हो । उँभौली माङ भनेको प्रकृति पूजा हो । जब वर्षा लाग्छ, सूर्यले आफ्नो ताप बढाएर पृथ्वीलाई उष्ण दिन्छ । यही उष्णले गर्दा पृथ्वीमा खेती–किसान गर्ने अनुकुल वातावरण बन्छ । यसरी नै हामीले प्रकृतिलाई चाहिँदोमात्रको उष्ण, वायु, वर्षा होस् भनेर हामी सूर्य, वरुण र वृष्टिदेवलाई पूजा गर्ने गर्दछौं । यसका साथै दैविक प्रकोपबाट हामीले लगाएका अन्नबालीहरूको सुरक्षा गरिदिनू भन्ने बिन्ती पनि राख्छौं । यसरी नै हामीले खेत, जमीन जोत्दा, खन्दा त्यहाँ भएका कति कीराफट्याङ्ग्राहरु जान–अन्जानमा मर्छन् । यसरी तिनीहरूको हत्या भएकोमा अग्रिम क्षमा पनि यही माङ सेवामा मुन्दुममार्फत माग्ने गरिन्छ । राई जातिले गर्ने उँभौली पूजाको यो एउटा विशेषता पनि हो । यसरी नै हामीले खन्दा, गोड्दा हातहतियारहरू जस्तै काँटा, कोदालोले प्राणीको हत्या नहोस् ।
मानव जातिलाई पनि चोटपटक नलागोस् भनी हातहतियारको पनि पूजा गर्ने गरिन्छ । उँभौलीमा अन्नबालीको बोटलाई पनि राम्रो फलोस्–फुलोस्, सह आवोस् र कीरा–फट्याङ्गाले अन्नबाली नष्ट नपारोस् भन्दै रिसिवा पनि गाउने गरिन्छ । उहिले खेती–किसानमा पस्नुभन्दा अघि आफै पनि ऊर्जावान हुनको निम्ति सिलि पनि गरिन्थ्यो ।’
सायद यो ठाउँमा आफूसँग सधैं कुरा गर्ने साथी नभएर हो कि वा मसँग भेटेर पितृहाङ अविरल बोलिरहेको थियो । म अवाक भएर उसको कुरा एउटा आज्ञाकारी छात्रझैं सुनिरहेँ । पितृहाङले फेरि एउटा खोसेलाको पातमा बङ्गाली बेह्रेर भन्न थाल्यो– ‘सुनिस् नाम्चुले ! म राङ्कामा हुँदा मङ्सिरेको पनि कति हर्ष, उल्लाससँग तेरो पितृमासँग माङ पूजा गर्ने गर्थे । मङ्सिरे गर्दा गाउँका राई बुढापाकाहरूलाई बोलाएर पञ्चको रूपमा उभ्याउनुपर्छ । जमिनमा पाकेको अन्नबाली पञ्च साक्षी राखेर साम्खामा चढाउनुपर्छ । यसबेला मुन्दुम माध्यमबाट अन्नबाली फलेकोमा प्रकृतिलाई पनि धन्यवाद चढाउने गर्दछ ।’
’मङ्सिरे अथवा उँधौली माङ गर्दा बिहानै उठेर साम्खाको वरिपरि माटोले लिपेर चोखोनितो गरेर साम्खालाई राई जातिले आ–आफ्नो थर अनुरूप मङ्सिरे माङ गर्ने गरिन्छ । कसैले माङ गर्दा साम्खामा पाँच वटा वा सात वटा कुखुरा काटेर भोग दिने चलन पनि छ । यो चलन हिजोआज बनाइएको होइन । यो परम्परा युगौंयुगदेखि राई जातिले अपनाएर ल्याएको हो । माङ पूजा सकेपछि बुढापाकाहरू मिलेर छनुवा जाँड, वाचिपा खाने गर्दछन् । यसै क्रममा आएका पञ्च, आगन्तुक मिलेर चासुम सिलि आदि ढोल–झ्याम्टा बजाउँदै नाच्ने गर्दछन् ।’
‘बिहान–बेलुकी नभए पनि दिनमा एकपल्ट साम्खामा आगो बालेकै हुनुपर्छ । यालुङले यसो गर्दैछ कि छैन ? साम्खामा आगो जलाएन भने माङ रिसाउछ । माङ रिसायो भने आफ्नो शाखा–सन्तानलाई ठूलो समस्या र कठिनाइ पनि आउने गर्दछ ।’
रात्रीको खाना पनि तयार भइसकेको हुनाले आफ्नो गफलाई विश्राम दिँदै बुढाले खाना पस्कनको निम्ति थाल झिक्न थाल्यो । म पनि दिनभरिको हिँडाइ अनि भोकले गर्दा कहिले खाना खाएर ओछ्यानमा पल्टेर जिउलाई आराम दिऊँ भनी सोचिरहेको थिएँ । बुढाले पनि डबकीको छानेको जाँड स्वाट्ट पारेर खाना पस्कने थाल्यो । खाना खाइसकेर बुढाले भन्यो– ‘ल अब सुतौं, भोलि उठेर कुरा गरौंला ।’ मैले पनि ‘हुन्छ’ भन्ने टाउको हल्लाएर स्वीकृति दिएँ ।
सुत्न जानुभन्दा अघि म पिसाब फेर्न बाहिर निस्कनै लाग्दा ढोकाको दलान होचो छ भनेर मैले ख्यालै गरिनछु । स्वाट्ट निस्कँदा ड्याङ्ग टाउको दलानमा ठोक्कियो ।
म झसङ्ग ब्युझेँ । देवलमा झुण्ड्याइएको फोटोको फ्रेम झरेर टाउकोमा लागेको रहेछ । म त सपना पो देख्दै थिएछु । मैले त पितृहाङलाई सपनामा पो भेटेछु । धन्य छ साम्खा, सुप्तुलुङ अनि माङलाई, सपनामा भए पनि मलाई पितृहाङसँग भेट गराइदिनुभयो । मेरो कोपा पितृहाङले सपनामै भेटें पनि उनले मलाई राई जातिको संस्कारबारे धेरै कुराको ज्ञान दिनुभयो ।
सिक्किम, भारत
(लेखक पारुहाङ साप्टेन माङखिम राङ्का, सिक्किमका प्रमुख सल्लाहकार हुनुहुन्छ ।– सम्पादक)
बुङ्वाखा, पूर्णाङ्क १८४ बाट साभार