मुत्दुमी ढुङ्गा खुवालुङ र राई जातिको विश्वास

0
289

चन्द्रकुमार राई ‘हतुवाली’

किरात मध्येको राई जातिको मुत्दुममा खुवालुङ/खोक्वालुङको महत्व रहेको पाइन्छ । यो बान्तावा राई भाषामा खुवालुङको नेपालीमा अर्थ हुन्छ- ‘खुवा’ भनेको ‘राज्य, सीमा, क्षेत्र’ र ‘लुङ’ भनेको ‘ढुंगा’ भन्ने हुन्छ । यस अर्थले प्राचीन किरात बसोबास क्षेत्रको सीमा ढुङ्गाको रूपमा ‘खुवालुङ’लाई लिइन्छ ।

खुवालुङ किरात राई जातिको आस्था र विश्वासको ढुंगा हो । किरात क्षेत्रमा खुवालुङ नामका दुई वटा ठाउँहरु रहेका छन् । पहिलो, खुवालुङ अरुण, तमोर र दुधकोसी नदीको संगम त्रिवेणीको पानीको बहावभित्र रहेको छ भन्ने विश्वास छ । दोश्रो, खोटाङ जिल्लामा रहेको प्रसिद्व हलेसी गुफालाई पनि राईहरुले खुवालुङ नामले बोलाएको पाइन्छ । हलेसी गुफालाई खुवालुङ नामले बोलाउनुको अर्थ हो ‘खुवा’ भनेको ‘पानी’ र ‘लुङ’ भनेको ‘ढुंगा’ अर्थात् ‘ढुंगाको कापबाट पानी निस्कने’ अर्थमा खुवालुङ भनिएको हो । अर्थात् गुफाभित्र र गुफाबाहिर पानी पलाउने गरेकोले खुवालुङ भनिएको हो । यो खुवालुङ चर्चित किरात राई मिथकका पात्र किरात पुर्खा हेत्छाकुवाको निवासस्थान थियो भन्ने छ ।

लेखक

किरात राई धामी र बिजुवाहरुले बिरामीलाई झारफुक गर्ने र धामी नाच्ने बेलामा मुत्दुमी रिसिया भन्दा र गाउने बेलामा खुवालुङको कथा ल्याउने गर्दछन् । यो खुवालुङ भनेको अरुण, तमोर र दुधकोसीको मिलनविन्दु त्रिवेणीमा रहेको खुवालुङ हो । मुत्दुमी रिसिया भन्ने र गाउने बेलामा उनीहरु नियामा अर्थात् मधेशबाट हिमाल हिप्चुली अर्थात् पहाड पर्वततिर अर्थात् आफू बसेको थातथलोमा आउनको लागि सप्तकोशी नदी पछ्याउँदै आउँछन् । सप्तकोशीको मिलनविन्दु त्रिवेणीमा आइपुगेपछि खुवालुङमा बिसाउँछन् । थकाइ मरेपछि फेरि अगाडि बढ्छन् । खुवालुङबाट भने धामी तथा विजुवाहरुका बाटो फाट्छ अर्थात् छुट्टिन्छ । दुधकोसी नदीलाई पछ्याउँदै जाने कि अरुण नदीलाई पछ्याउने वा तमोर नदीलाई पछ्याउने हो ? यो कुरा धामी बिजुवाले बसोबास गरेको ठाउँ वा बिरामी बसोबास गरेको स्थानले निर्धारण गर्दछ ।

उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुतिर बसोबास गर्ने धामी बिजुवा वा बिरामी किरात राई हो भने दुधकोशी नदी पछ्याउँछन् । त्यसपछि आफ्नो थातथलोबाट आउने खोला पछ्याउँदै गाउँ प्रवेश गर्दछन् । धनकुटा, तेह्रथुममा बस्ने राई धामी र बिजुवाहरुले तमोर नदी पछ्याउँछन् र थातथलोबाट आउने खोला पछ्याउँदै गाउँ पुग्छन् । भोजपुर र संखुवासभामा बस्ने राई धामी तथा बिजुवाहरुले अरुण नदी पछ्याँउदै आइ गाउँबाट आउने खोला पछ्याउँदै गाउँ पुग्छन् । गाउँमा पुगेपछि गाउँको मुत्दुमी नाम बोब्बि हुन्छ । प्रत्येक गाउँको फरक बोब्बि हुन्छ । बोब्बि भनिसकेपछि बिरामीको झारफुक भएमा सामेत भन्दछन् । सामेत भनेको गोत्र भने जस्तै हो । यसपछि बल्ल पितृहरुसँग बल मागिदिने काम गर्दछ । यसरी खुवालुङको किरात राई जातिमा महत्व रहेको पाइन्छ । खुवालुङसँगै किरात क्षेत्रमा प्रवेश गर्नको लागि मुत्दुमी मार्गको रूपमा अरुण नदी, दुधकोसी र तमोर नदी साथै गाउँबाट बग्ने खोलाहरुको पनि उत्तिकै महत्व रहेको पाइन्छ ।

खुवालुङको अर्को महत्व भनेको परापूर्वकालमा किराती क्षेत्र प्रवेश गर्ने ठूलो नाका र सीमाको रूपमा रहेको थियो । यस क्षेत्रमा पाइने राई मिथकहरुले पनि यही कुरालाई पुष्टि गरेको पाइन्छ । मिथकका अनुसार किरात पुर्खा हर्कबुङका सन्तानहरु भुसुरी, छछाप्पा र वाछाप्पाहरु खुवालुङकै बाटो भएर आफ्नो किरात क्षेत्रमा प्रवेश गरेको पाइन्छ । त्यसरी नै कतिपय भनाइअनुसार भारतमा बसोबास गर्ने किरात शासकहरु पनि अन्तिमकालतिर हिन्दू धर्मावलम्वी भएर शासन चलाइरहेका थिए । त्यही समयमा मुस्लिम आक्रमण सामना गर्न नसकेर भाग्दै सप्तकोसी पछ्याउँदै खुवालुङमा आइपुगे । किरात क्षेत्रमा किराती संस्कृति बाहेकका अन्य संस्कृति अपनाएर वा साथमा लिएर प्रवेश गर्न मनाही थियो । त्यसैले आफ्नो सम्पूर्ण जातीय संस्कारहरु खुवालुङमै छाडेर किरात क्षेत्र प्रवेश गरेर शुद्व किराती बनेर बस्न थालेको मिथकहरु पाइन्छन् । यसरी किरात क्षेत्रमा प्रवेश गरेका अन्य जातिहरुलाई किरातहरुले पनि आफ्नो दाजुभाइको रुपमा स्वीकार्दथे । तर यो नियम र परिस्थिति लामो समयसम्म रहन सकेन ।

बिस्तारै किरात प्रदेशमा अन्य जातिहरुको बाहुल्यता बढेपछि भने आफ्नो सांस्कृतिक अवयवहरु खुवालुङमा त्याग्नु नपर्ने भयो । यसरी किरात क्षेत्रमा विविध जातिको बसोबास भएको मिश्रित समाजको निर्माण हुन पुग्यो । अहिले पनि यसको प्रभाव किरात क्षेत्रमा हुर्के बढेका अन्य जातिमा ‘म पनि किराती क्षेत्रकै मान्छे हुँ, किरातीहरुसँगै खेले हुर्केको हुँ’ भन्ने गर्व भएको सुनाउने गरेको पाइन्छ । त्यसरी नै किराती राई समाजले पनि कुनै अन्य जातिको मानिस आएर लामो समयसम्म गाउँघरमा घुलमेल भएर बस्यो । किराती समाजसँग संस्कार-संस्कृति गर्न अप्ठ्यारो परेको भएमा ‘म पनि तपाइँकै राई बन्छु’ भनेमा सम्पूर्ण गाउँलेको यायोक (सभा) बसेर पाछा अर्थात् राईकै उपथर दिएर राख्ने प्रथा रहेको पाइन्छ । यसले किरात क्षेत्रमा कोही पनि जात विहिन, संस्कारविहिन र समाजविहिन भएर बस्नु नपर्ने प्रथा पहिलेबाट चल्दै आएको पाइन्छ ।

मुत्दममा आउने मुत्दुमी खुवालुङको अवस्था के छ त ? के खुवालुङलाई के देख्न र छुन सकिन्छ त ? त्यसो हो भने खुवालुङको स्वरुप भौतिक वा अभौतिक के छ त ? भन्ने बारेमा भने माङपा, धामी बिजुवाहरु र सर्वसाधरण राईहरूबीचमा भने मतभिन्न रहेको पाइन्छ । माङपा, धामी बिजुवाहरुले खुवालुङलाई अदृश्य मुत्दुमी ढुंगा हो भनेको पाइन्छ । यसलाई प्रत्यक्ष आँखाले देख्न र छुन सकिन्दैन भन्ने विश्वास उनीहरुको छ । उनीहरु जब झारफुक गर्न वा धामी नाच्नको लागि बस्दछन् । शरीरमा मुत्दुमी शक्ति चढेपछि मात्र देख्न सक्दछन् । खुवालुङ पानीभित्र अदृश्य रूपमा छ भन्ने विश्वास गर्दछन् । तर सर्वसाधारण किरात राईहरूले भने त्रिवेणी संगमस्थलको विशाल पानीको बहावमाझ ठूलो ढुंगाको टुप्पो देखिन्छ, त्यसैलाई खुवालुङ हो भनेर विश्वास गर्दछन् । यसरी दृश्य र अदृश्यजस्तो भएता पनि खुवालुङप्रति किरात राई जातिको अगाध आस्था रहेको पाइन्छ ।

किराती राई समाजमा खुवालुङ एउटा विशिष्ट संकेत हो । यसले राई जातिको सांस्कृतिक विकास, किरात क्षेत्र र किरात क्षेत्रमा भएको विविध जातीय सहअस्तित्वको सम्बन्धलाई उजागर गरेको पाइन्छ । वर्तमान पुस्ताले समसामयिक राजनीतिक लहरलाई मात्र पछ्याउँदै गर्दा सांस्कृतिक ऐतिहासिक धरातललाई पनि नियाल्न आवश्यक हुन्छ । यस कार्यले मात्र समन्वयात्मक समाजको निर्माण हुन सक्छ र शान्तिपूर्ण साथै सहअस्तित्वपूर्ण समाज स्थापना भई विकासको ढोका खोलिन्छ । त्यसरी नै अहिले विभिन्न जातिका संस्कृतिक विषयवस्तुहरुको मूर्त र अमूर्त संस्कृतिको रूपमा अध्ययनको थालनी भएको छ । यसरी अध्ययन गरिएका सांस्कृतिक विषयवस्तुहरूलाई पर्यटन व्यवसायसँग जोडेर आर्थिक जीवनोपार्जनको माध्यम बनाउने प्रचलन पनि बढ्दो छ । लामो इतिहास, मिथक बोकेको खुवालुङका सन्दर्भमा नक्कली कथा बनाएर प्रवद्र्धन गर्न आवश्यक छैन । वास्तविक अध्ययन गरेर राष्ट्रिय संस्कृतिसँग जोड्दै प्रचारप्रसार गर्न सकेमा प्रदेशसँगै नेपालको पर्यटनमा सघाउ पुग्नुको साथै खुवालुङकै पनि संरक्षण हुने थियो । यस कार्यको लागि सम्बन्धित जाति, जातीय संस्था साथै सम्बन्धित सरकारी निकायहरू लाग्नुपर्ने देखिन्छ ।

hatuwalichandra@yahoo.com

 

गोरखापत्र दैनिक

२०७६ साउन १८

 

 

 

LEAVE A REPLY