भाषा अर्थशास्त्रसँग जोडिएको हुँदोरहेछ

0
201

माननीय सुदन किराती

प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य

 

भोजपुरबाट संघीय संसदमा निर्वाचित माननीय सुदन किराती आजकाल कोरोनाको कहरमा पनि बेफुर्सद हुनुहुन्छ । भोजपुरबाट काठमाडौंमा बसोबास गरिरहनुभएका भोजपुरेहरुलाई उहाँले राहत वितरण गर्न दिनहुँ खटिरहनुभएको छ ।
कोरोना भाइरसका कारण देशमा लकडाउन सुरु भएको केही समयपछि सामाजिक सञ्जाल र केही अनलाइनहरुमा माननीय सुदन किरातीले आफै चामल बोकी भोजपुरेहरुको डेरा–डेरामा राहत वितरण गरिरहनुभएको फोटाहरु प्रकाशित हुन थालेका थिए । ‘भीड कम होस् भनेर राहत वितरणमा प्रायः आर्फै हिँड्छु । बिहान ८ बजेदेखि राति ११/१२ बजेसम्म पनि राहत वितरणमा कहिलेकाही खटिरहेको हुन्छु,’ बुङ्वाखाको सम्पादक पदम राईको जिज्ञासामा उहाँले भन्नुभयो । उहाँसँग गरिएको कुराकानी हयाँ प्रस्तुत गरिएको छ ।

कोरोना भाइरसका कारण अहिले जनजीवन अस्तव्यस्त छ । यो बेला तपाईंको दैनिकी कसरी बितिरहेको छ ?
कोरोना भाइरसबारे राज्यले उचित व्यवस्थापन गर्न नसक्दा नागरिकमा आतङ्क फैलिएको महसुस गरेको छु । लकडाउनले रोग, भोक र मनोरोगले सताउने खतरा देखिँदैछ ।
लकडाउन जारी भएको केही हप्तापछि नै काठमाडौंस्थित भोजपुरेहरुलाई राहत वितरण गरिरहेको छु । राज्यले पनि राहत वितरण गरिरहेको छ, तर त्यो असाध्यै झन्झटिलो र घुमाउरो छ । त्यस अर्थमा म आफै राहत कार्यमा निरन्तर जुटिरहेको छु । करिब दुई महिनाको अवधिमा मैले करिब एक हजार परिवारको घर र कोठाहरुमा राहत पु¥याइसकेको छु । करिब २९ हजार किलो चामल वितरण गरिसकेको छु ।
राहतको लागि आर्थिक स्रोत कसरी जुटाइरहनुभएको छ ?
सुरुमा आफैले तीस हजार रुपैयाँ पैसा निकालें । त्यस रकमबाट करिब २३ बोरा चामल खरिद गरें । उक्त चामल आपतविपतमा पर्नुभएका भोजपुरेहरुलाई वितरण गरिसकेपछि सामाजिक सञ्जालमार्फत सार्वजानिक गरें । त्यो सूचनामा आपतमा परेकाहरुलाई राहत वितरण गरिएको र अबउप्रान्त चाहिएमा सम्पर्क गर्नुहुन भनी मेरो मोबाइल नम्बरसहित राखेको थिएँ । त्यो समाचार हेर्नुभएपछि सहयोगी मनहरुले, मित्रहरुले ‘हामी पनि सहयोग गर्न तयार छौं’ भनी अत्यन्तै सकरात्मक हुनुभई हातेमालो गर्न आउनुभयो । राहत सामग्री किन्नको लागि अहिलेसम्म कोही, कसैसँग ‘सहयोग गर्नुप¥यो’ भनी आग्रह, निवेदन गर्नुपरेको छैन । सबै स्वतःस्फुर्त साथ, सहयोग आइरहेकैबाट हामीले हातेमालो गरिरहेका छौं । सहयोग गर्नुहुने मनका धनी र संकटमा रहनुभएका भोजपुरेहरुबीच मैले पुलको मात्र भूमिका खेलिरहेको छु । ‘मेरो तर्फबाट एक बोरा चामल है’ भन्दै १ बोरादेखि बढीमा ३३ बोरासम्म दिनुहुने महानुभावहरु हुनुहुन्छ । यसरी एक हजार बोराभन्दा बढी चामल मित्र र सहयोगी मनहरुबाट जम्मा भई वितरण गर्ने कार्य भइरहेको छ । यसको लागि उहाँहरुप्रति आभारी पनि छु ।
सहयोगी मनहरु भोजपुरेमात्र कि बाहिरको पनि हुनुहुन्छ ?
धेरैजसो भोजपुरे र भोजपुर बाहिरका पनि सहयोगदाताहरु हुनुहुन्छ । अप्ठ्यारोमा पर्नुभएका भोजपुरेहरुलाई नै प्राथमिकताका साथ राहत वितरण गर्ने गरेको छु । तर स्थलगत रूपमा वस्तीहरुमा पुगेपछि भोजपुरबाहेक अन्य जिल्लाका नागरिकहरु पनि दर्दनाक अवस्थामा भेट्टिए । त्यस्तो अवस्थामा उहाँहरुलाई पनि मानवीय हिसाबमा पनि राहत वितरण गरेको छु । यस्ता गैर भोजपुरे परिवारहरु एक सयभन्दा बढी रहेका छन् ।
राहत वितरणको मापदण्ड कस्तो बनाउनुभएको छ ?
मैले सामाजिक सञ्जालमा राहत वितरण गरिरहेको कुरा सार्वजानिक गरेपछि काठमाडौंस्थित लकडाउनमा फसिरहनुभएका भोजपुरेहरुले फोन गर्न थाल्नुभयो । उहाँहरुको विवरण टिपें । त्यसपछि उहाँहरुको प्राथमिकताको सूची तयार पारें । जसको घरमा तत्कालै आर्थिक संकट छ, उहाँहरुलाई पहिलो प्राथमिकतामा राखें । यो समूहमा सुत्केरी, गर्भवती, अपाङ्ग, विरामी र दैनिक ज्याला मजदुरी गर्नेहरु हुनुहुन्थ्यो । उहाँहरुलाई राहत वितरण गरें । त्यसपछि विद्यार्थीहरुलाई राहत बाँडे । त्रिभुवन विश्वविद्यालयको होस्टेलमा तीन पटकसम्म गई राहत विद्यार्थीहरुलाई राहत वितरण गरिसकेको छु ।
यो राहत वितरण कार्य कहिलेसम्म जारी राख्नुहुन्छ ?
काठमाडौंमा रहुञ्जेल गर्छु । अहिले संसदमा बजेट अधिवेशन पनि चलिरहेको छ । त्यतिञ्जेल म काठमाडौंमै बस्नुपर्ने भो । मैले गर्नुपर्ने बैठकहरुसहित राहत वितरण पनि उत्तिकै प्राथमिकता दिएको छु ।
जिल्ला पनि जानै पर्छ । त्यहाँ पनि थुप्रै कुराहरु लथालिङ्ग भइरहेका छन् । यो बेला त्यहाँ पनि सबैलाई अभिभावकत्वको महसुस दिलाउनै छ ।
तपाईं भोजपुरको जनप्रतिनिधि पनि हुनुभएको हिसाबमा यो पटकको राहत वितरणले काठमाडौंमा भोजपुरेहरुको यथार्थ चित्र पनि पाउनुभयो होला हैन ?
यो राहत वितरणले त मलाई विश्वविद्यालयमा पाइने शिक्षाभन्दा नि ठूलो शिक्षा पाएँ, पाउदैछु ।
भोजपुरेहरु; खासगरी आधारभूत वर्गका मान्छेहरु बसिरहनुभएको रहेछ भन्ने मैले थाहा पाएँ । उहाँहरु कसरी बसिरहनुभएको छ भन्ने कुरा देख्न पाएँ । भोजपुरबाट आई काठमाडौंमा अन्य भोजपुरेहरुसँग परिचित, पहिचान र सम्बन्ध नभई बसिरहनुभएकोसँग पनि भेट भयो । दिनभरी मजदुरी गरी बेलुका मासु किनी खान नसकी कुखुराको खुट्टा, टाउकै भएता पनि किनेर परिवारसँग बसेर खुसी र मिठो मानेर खानेहरु; जो एक दिन काम गर्न नपाए खानमा संकट आइपर्ने वर्गसँग पनि भेट भइरहेको छ । त्यस्तो ठूलो समूह काठमाडौंको असन बजारमा बस्नुहुँदोरहेछ । दौराको तुना, सर्टको बटम लगाउने, थेला थेल्ने, भारी बोक्ने, सडक छेउ लुगा बेच्ने, सुन पसलमा कालिगढ भई काम गर्ने आदि पेशामा आवद्धहरु असन क्षेत्रमा भेटें । ललितपुरको माथिल्लो भेगतिर च्याउ खेती गर्नेहरु, कुखुरा फर्ममा काम गर्नेहरु, भक्तपुरको बोडे, गोंगबु बसपार्कको वरिपरीदेखि सुन्दरीजलसम्म बस्नुभएका भोजपुरेहरुसँग भेट्ने अवसर मिलेको छ ।
तपाईं त भोजपुर जिल्लामा पनि त्यतिकै सक्रिय भइरहनुभएको देखिनुहुन्छ । कोरोना सङ्क्रमणपछिको भोजपुरको अवस्था कस्तो छ ?
जनचेतनाको अभावले भोजपुरे नागरिकहरु पनि कोरोनाबाट आतंकित हुनुभएको छ । गाउँ छिर्ने पुलमा ढोका लगाएर स्थानीय निकायहरु बस्नुभएको छ । विभिन्न ठाउँहरुबाट मान्छेहरु कैयौ दिन हिँडेर आफ्नो गाउँ आउनुहुन्छ । तर गाउँ छिर्न उहाँहरुलाई रोकावटको अवस्था छ । राज्यको समन्वयको अभावमा मान्छेहरुले दुःख पाइरहेका छन् । भारतबाट काँकडभित्ता हुँदै आमचोक गाउँपालिकाका १८ जना मान्छेहरु गाउँपालिका उपाध्यक्ष आफै जानुभई लिएर आउनु हुँदा रानीटारस्थित पुल बन्द गरिएको थिएछ । मैले नै ‘पुलको ढोका भत्काउनू’ भनें । उहाँहरुले पुलको ढोका भत्काएर जानुभयो । हाल गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा ती १८ जना बसिरहनुभएको छ ।
लकडाउनको कुनै तालमेलै छैन । स्थानीय निकाय, गृह प्रशासन, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको फरक–फरक कुरा आइरहेको छ ।
भोजपुरमा धेरै नागरिकहरुले कृषिमा भर पर्नुपर्छ । हाल भोजपुरमा कृषिको अवस्था कस्तो छ ?
सरकारी नीति आउछ– बाँझो जमिन राख्न पाइन्न । कुरो ठीकै हो । तर जग्गा बाँझो किन भइरहेको छ ? राज्यले खोजेर उचित नीति बनाउनु प¥यो नि । कोही मान्छेहरु अमेरिका वा काठमाडौं गएर उतै बस्नुभयो होला । उहाँहरुको जग्गा बाँझो भयो । तर बाँकी ९५ प्रतिशत कृषकको जग्गा किन बाँझो भयो ? यसबारे सरकार बेखबर छ । वास्तविक स्थिति के छ भने कृषि गर्नको लागि सिंचाइ, उचित मल, बीउ, बिजन छैन । बल्लबल्ल फलाएको अन्न बाँदरले खाइदिन्छ । सिंचाइ, मल, बीउको व्यवस्था र बाँदरलाई व्यवस्थापन गर्नेबारे सरकारको ध्यानै छैन ।
‘राष्ट्रपति कृषि पुरस्कार’ पाएको मान्छे बाध्य भएर विदेश गएको छ । ऊ किन विदेश गयो ? यतातिर हाम्रो ध्यान कहिल्यै पुगेन ।
हतुवागढीमा उत्पादन भएको अदुवा सबै कुहिएर गइरहेको छ । विदेशमा कमाएको पैसा र सीपले कृषिमा लगानी गरेक केही युवाहरुले कृषि उत्पादन गरे । उनीहरुले ७ किलोसम्मको फुलकोपी फलाए । उक्त फुलकोपी धरानस्थित कृषि बजारमा बेच्न लैजादा बिक्री भएन । किन किनेन भन्दा ‘यत्रो कोपी त हामीले बेच्न सक्दैनौं । हामीलाई त आधा केजीदेखि १ केजीसम्मको चाहिन्छ । डेरामा बस्नेहरुले ७ किलोको कोपी किनेर के गर्नु ?’ यस्तो जवाफ पाएपछि निराश हुँदै ती युवाहरुले आफ्नो फुलकोपी फर्काउनुपर्‍यो । आज उनीहरु फेरि विदेश नै फर्केका छन् । यसको लागि हामीले राष्ट्रिय बजारको विकास गर्ने कि नगर्ने ?

भाषा र संस्कृतिको कुरा गरौं । भोजपुरमा बान्तावा राईलगायत विभिन्न भाषिक समुदायहरुका आ–आफ्ना मातृभाषाहरु छन् । अहिले ती समुदायहरुले आफ्ना मातृभाषाहरु कतिको प्रयोग गरिरहनुभएको छ ?
मातृभाषाको प्रयोग तुलनात्मक रूपमा घटेको पाएको छु ।
किन होला ?
भाषाजस्तो कुराको प्रयोगमा किन कमी आयो भनी गहिरो समीक्षा गर्न जरुरी छ । म सानो हुँदा ढिन्टाङ, दिमालुङ, खैराङ, सिम्ले हुँदै चतरा पुगेर नुन, तेल बोकेको याद छ । त्यसबेला ती बाटाहरुमा सबैले बान्तावा भाषा बोल्थे । तर आजकाल त्यो छैन । सबै नेपाली बोल्ने भइसके । जनयुद्वकालमा दोभानेको माथिल्लो भेगमा पुग्दा त्यहाँका मान्छेहरुले नेपाली भाषा बोल्न जान्नुहुन्नथ्यो । अहिले आएर सबैले नेपाली भाषा बोल्न थालिसक्नुभयो ।
मेरो बुझाइमा भाषा भनेको अर्थशास्त्रसँग जोडिदो रहेछ । अर्थशास्त्र र बजारसँग जब भाषा जोडिदैन, तब त्यो भाषाको प्रयोग कम हुँदै लोप हुने सम्भावना देखिन्छ । हतुवा, बासिखोराका मान्छेहरुले विगतमा उहाँहरु आफ्नै उत्पादनमा निर्भर हुनुहुन्थ्यो । बाहिर जानु पर्दैनथ्यो । त्यसले उहाँहरु बान्तावा भाषाको प्रयोग गरिहनुहुन्थ्यो । तर अब ती ठाउँका मान्छेहरु धरान, काठमाडौंमा आई काम गरिखानुपरेपछि अब उहाँहरुको बान्तावा भाषाको प्रयोग हुन पाएन । अब बान्तावामात्र जानेर नहुने भयो । नेपाली र सकभर अङ्ग्रेजी भाषा नजानिकन उसले गरिखान नसक्ने बुझेपछि बाध्य भएर ती भाषाहरुमा दखल राख्नुपर्ने अवस्था छ । यसरी हाम्रो अर्थ प्रणाली र बजारले हाम्रा मातृभाषाहरुलाई विस्थापित गरिरहेको अवस्था छ । अर्कोतिर राज्यको खराब नीतिको कारणले नयाँ पिँढीले आफ्नो भाषाको मूल्य, मान्यताबारे केही बुझ्न सकिरहेको छैन । भाषालाई यो अवस्थाबाट जोगाइराख्नको लागि राज्यले के गर्नुपर्छ ?
सिद्वान्ततः संविधानमा सबै मातृभाषाहरुलाई राष्ट्रभाषा बनाएको छ । तर व्यवहारमा त्यो छैन । भाषाहरुलाई संरक्षण गर्नको लागि निशर्त राज्य अघि नसरी हुँदैन ।
संस्कृतिको कुरामा ?
भाषा र संस्कृतिको कुरामा स्थानीय समुदाय पनि चुपचाप छन् । यिनीहरुको संरक्षणमा के गर्ने भन्नेबारे अलिकति पनि सोच भएकाहरु पाएको छुइँन । बरु गाउँबाहिर जस्तै काठमाडौं वा अझ भनौं विदेशमा बस्नुहुनेहरुले सबैभन्दा बढी आफ्नो भाषा र संस्कार–संस्कृतिको माया गरेको पाएको छु । भोजपुरजस्तो घना किराती बसोबास भएको ठाउँमा मतलबै छैन । बरु त्यसको सट्टा जाँडरक्सी खाएर सबैलाई धम्क्याउन पाएकै छ । उसले आफ्नो भाषिक र सांस्कृतिक अधिकारबारे उत्पीडनको महसुस गरेकै छैन । जो हङकङ, बेलायत, अमेरिकामा बस्नुभएको छ, उहाँहरुले भाषा र संस्कृतिको महत्व के रहेछ भन्ने बुझ्नुभएको छ, त्यसैले उहाँहरुलाई यी कुराहरुमा सबैभन्दा बढी चासो र चिन्ता छ । किनभने भाषा, संस्कार–संस्कृति भनेको त पहिचानसँग जोडिएका कुराहरु हुन् नि त । तर विदेशमा बस्नुहुनेको पनि यो पुस्तापछि आउने पुस्ताले निरन्तरता देलान् भन्नबारे चाहीँ प्रश्नचिन्ह नै छ । किनभने अब त्यहाँ जन्मिने छोराछोरीहरु जम्मै विदेशीझै हुँदैछन् । अब उसले आफ्नो मातृभाषा त के, नेपाली भाषा नै बोल्नेवाला छैन ।
संस्कृतिको बारेमा मैले नै पहल गरेको एउटा उदाहरण दिन्छु । भोजपुरस्थित मेरै गाउँ ओख्रेको चेवामा गत मङ्सिरमा हामीले सामुहिक माङखिमको निर्माण ग¥यौं । त्यहाँ स्थानीयलाई सामुहिक चुलाको अवधारणा दियौं ।
विदेशमा बस्नुहुने साथीहरुलाई भनी आर्थिक सङ्कलन र हाम्रै व्यवस्थापनमा नयाँ भवन र उहिले गाउँमा देउसी–भैलो खेलेर आठ लाख रुपैयाँमा निर्माण गरिएको भवनलाई पुनर्निर्माण गर्‍यौं । त्यहाँ सुम्दिमा–पारुहाङको प्रतिमा स्थापना गरिदिएका छौं । स्थानीय युवाहरुलाई फुटबल मैदान बनाइदिएका छौं ।
त्यहीँ गाउँमा जन्मिनुभएका आदरणीय समाजसेवी तथा किरात राई यायोक्खाको पूर्व अध्यक्ष कुल बहादुर राईज्यूलाई काठमाडौंबाट प्रमुख अतिथि बनाई सो सामुहिक माङखिमको उद्घाटन गरायौं । स्थानीयहरुले अपनत्व लियोस् भनेर उद्घाटनको समय पारी केही जोडीको विवाह पनि त्यहीँ गरिदियौँ । छेवार, पास्नी, गुन्युचोलीजस्ता संस्कारका कामहरु पनि गरायौं । उद्घाटन समयमा धामीहरुको भेला गरायौं । उहिलेको जस्तो मुन्दुमी भन्ने धाँमीहरु पनि अहिले गाउँमा हुनुहुन्न रहेछ । उँभौली–उँधौलीमा साकेन्वा सिली नाच्नको लागि स्थानीयलाई अनुरोध गरेका थियौं । तर त्यसलाई संरक्षण गर्ने मान्छेको अहिले अभाव छ । हामीले गाउँलेलाई यतिसम्म भन्यौं कि ‘एक जनाले त्यहाँ स्याहारसुसार र संरक्षण गर्नुहोस् । खर्च हामीले जुटाइदिउँला’ भन्दा पनि मान्छे पाउन गाह्रो छ । एकाधबाहेक अहिले ती कामहरु भइरहेका छैनन् । अहिले त संस्कृति भनेको त उपभोक्तावादी पो भइसकेछ ।
अन्तमा बुङ्वाखामार्फत के भन्नुहुन्छ ?
तत्कालीन रूपमा कोरोनाको विरुद्वमा लडिरहेका छौं । बढी आतंकित नभई यसबाट बच्ने काम गरौं ।
भाषा, संस्कार–संस्कृतिमा काम गर्नुहुनेप्रति म आभारी छु । यो क्षेत्रमा राज्यले सहयोग गर्नुपर्ने हो । विशेष गरी प्रदेश १ बाट यसको पहल भए हुन्थ्यो । प्रदेश सरकारबाट ४०/५० लाख रकम भाषा, संस्कार–संस्कृतिको लागि अध्ययन, अनुसन्धान गर्न त्यो ठूलो भार पनि हैन । यदि त्यसो हुँदो हो भने यी हाम्रा सम्पतिहरुलाई जोगाइराख्न र थप क्षति हुन्नथ्यो । आवश्यक्ता परे आगामी दिनमा यसमा नि पहल गरौंला ।
बुङ्वाखा पूर्णाङ्क १८४ बाट

LEAVE A REPLY